
सिटिजन्स क्यापिटल लिमिटेडले खुलामुखी म्युचुअल फन्ड ‘सिटिजन्स सदाबहार योजना’ अन्तर्गत लगानीकर्ताका लागि अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरीको भूमिका निर्वाह गरिरहेको कम्पनीले लगानीकर्तालाई थप सहज, छिटो र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले उक्त प्रणाली सुरु गरेको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस योजनामा आबद्ध तथा आबद्ध हुन इच्छुक लगानीकर्ताले अब डिजिटल माध्यममार्फत योजनासम्बन्धी विभिन्न सेवा लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ प्रणालीले लगानी प्रक्रियालाई सरल, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
अनलाइन प्रणालीमार्फत लगानीकर्ताले एकमुष्ट (लम्पसम) लगानीका लागि आवेदन तथा भुक्तानी, व्यवस्थित लगानी योजना (एसआईपी) मा दर्ता, किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना (डीआरआईपी) मा आबद्धता तथा अनलाइन साइन–अप र लगइन सुविधा उपयोग गर्न सक्नेछन् ।
कम्पनीले यस प्रणालीमार्फत लगानीकर्ताले चौबीसै घण्टा, सातै दिन सेवा उपयोग गर्न सक्ने जनाएको छ । यसबाट कार्यालय समय वा भौगोलिक दूरीको सीमाबिना जहाँबाट पनि सेवा लिन सकिने विश्वास कम्पनीको छ ।
सिटिजन्स क्यापिटलले डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा पुँजी बजारमा सहभागिता बढाउने रणनीतिअनुसार यो प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ । आगामी दिनमा पनि प्रविधिको प्रयोगमार्फत थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
कम्पनीले ‘नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच’ विस्तार गर्ने लक्ष्यसहित एसआईपीमार्फत लगानी संस्कृतिलाई थप पारदर्शी र पहुँचयोग्य बनाउने योजना अघि बढाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा विभिन्न औद्योगिक–व्यावसायिक समूहको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविरबाबु श्रेष्ठ रहेका छन् ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































