ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस वर्ष बैंकको खुद नाफा गत वर्षभन्दा ३८ दशमलव १९ प्रतिशत बढी भएको छ ।
यस वर्ष बैंकले ६० करोड २५ लाख १२ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिमा रू. ४३ करोड ६० लाख ७ हजार थियो । सञ्चालन मुनाफामा ३८ दशमलव २४ प्रतिशत बृद्धि भएसँगै कम्पनीको खुद नाफा बढेको हो । गत वर्ष रू. ६२ करोड ३१ लाख ५२ हजार सञ्चालन मुनाफा रहेको बैंकको यो वर्ष रू. ८६ करोड १४ लाख ६५ हजार रहेको छ ।
तेस्रो त्रैमाससम्म बैंंकको वितरणयोग्य मुनाफा रू. ४३ करोड ३१ लाख ४० हजार रहेको छ । गत वर्षको यसै अवधिसम्म बैंकको यो मुनाफा रू. ९ करोड ५४ लाख रहेको थियो । यस वर्ष बैंकले रेगुलेटरी रिजर्भमा रू. ४ करोड ८१ लाख ५४ हजार छुट्याएको छ ।
१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढेर रू. ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार पुगेको छ भने जगेडा कोष रकम २७ दशमलव ८० प्रतिशत बढेर रू. ८५ करोड २१ लाख ४६ हजार कायम भएको छ । गत वर्षभन्दा यस वर्ष बैंकको निक्षेप २४ दशमलव ८० प्रतिशत र कर्जा प्रवाह ३३ दशमलव शून्य ४ प्रतिशत बढेको छ ।
यस वर्ष बैंकले रू. ४५ अर्ब ३१ करोड ९९ लाख २० हजार निक्षेप संकलन गरेको हो भने रू. ३९ अर्ब ५३ करोड ९२ लाख ५९ हजार कर्जा प्रवाह गरेको हो । गत वर्ष शून्य दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष रू. शून्य दशमलव ५८ प्रतिशत रहेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. २० दशमलव ८९ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ५३ रहेको छ ।