जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • निक्षेपको ब्याजदर अझै ६ महिना बढाउन नसक्ने अवस्थामा बैंक, ऋणको निरन्तर घटिरहने

निक्षेपको ब्याजदर अझै ६ महिना बढाउन नसक्ने अवस्थामा बैंक, ऋणको निरन्तर घटिरहने

ब्याजदर निरन्तर घट्दासमेत निक्षेपमा उच्च वृद्धि छँदैछ, दसैं तिहारजस्ता चाडपर्व अघिसमेत ऋणको माग नहुँदा अझै केही समय ब्याजदर स्थिर रहने देखिएको छ।विगत १५ वर्षदेखि बैंकिङ क्षेत्रमा एउटा चक्र देखिँदै आएको छ- निक्षेपको ब्याज घटेलगत्तै ऋणको माग बढेर तरलता अभाव हुने र ब्याज पुन: बढ्न थाल्ने। लगत्तै ब्याजदर उच्च तहमा पुगेर ऋणको माग हुन छाडेपछि तरलता यथेष्ट बढेर पुन: ब्याज घट्न थाल्ने।

यसपालि यो चक्र केही लम्बिएको छ, जसले गर्दा अझै केही महिना निक्षेपको ब्याज बढ्ने छैन, विगतमा महँगोमा उठाएको निक्षेप सस्तोमा नवीकरण हुँदा उल्टो ऋणको ब्याज थप घट्ने छ।

‘अझै ६/८ महिना निक्षेपको ब्याजदर बढ्नेजस्तो देखिँदैन,’ नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, ‘ऋणको माग हुन सकेको छैन। बैंकहरु आफू-आफू ऋण खोसाखोसमा छन्। त्यसले गर्दा अझै केही महिना ब्याज बढ्ने सम्भावना छैन।’

भदौ लागेपछि पछिल्लो २५ दिनमा वाणिज्य बैंकहरुमा ५४ अर्ब रुपैयाँ थप तरलता बढेको छ। साउन मसान्तमा ५७ खर्ब १५ अर्ब रहेको निक्षेप भदौ २५ गतेसम्म आइपुग्दा ५७ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

भदौका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरेको मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर साढे ६ प्रतिशतमा झरेको छ। एक वर्षयता निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ। तैपनि निक्षेप संकलन बढी नै रहेको छ।

विगतमा निक्षेप निक्कै सस्तो भएपछि दसैं तिहार अगाडिबाट ऋण उच्च दरले बढेर तरलता अभाव हुन थाल्थ्यो र पुन: ब्याज महँगिन्थ्यो। यसपालि दसैंको मुखमा अतिआवश्यकीय उपभोग्य वस्तुबाहेक अरुका लागि ऋणको माग छैन।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल उपभोग वस्तु आयातका लागि जाने कर्जा केही बढ्न थालेपनि त्यो अपेक्षाजनक भने नरहेको बताउँछन्। ‘भदौ लागेसँगै मार्जिन प्रकृतिको सेयर धितो कर्जा र गाडी ऋणको माग केही बढेको छ,’ उनले भने, ‘तर यसले प्रणालीमा भएको अधिक तरलता पूर्ण उपयोग गर्न सक्दैन।’

उनले ब्याजदर घट्दासमेत निक्षेपको वृद्धिदर कम नभएको भन्दै अझै केही समय ब्याज नबढ्ने बताए। ‘अहिले ब्याजदर घट्दा समेत निक्षेप बढिरहेको छ। ऋणको माग छैन। त्यसैले निक्षेपको लागत बढिरहेको छ,’ उनले भने, ‘अझै निक्षेपको ब्याजदर घटाउनु पर्ने अवस्था पो छ।’

निक्षेपको ब्याज घट्दासमेत ऋण विस्तार नहुनुलाई अर्थतन्त्रको समस्याका रुपमा बुझ्नु पर्ने अर्थाशास्त्रीहरु बताउँछन्।

‘पछिल्लो एक वर्षदेखि निक्षेपको ब्याज निक्कै तल आइसकेको छ,’ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘त्यति हुँदा पनि ऋणको माग नभएर निक्षेपको ब्याज अझै घट्ने स्थिति देखिएकाले यसलाई अर्थतन्त्र अझैपनि चलायमान हुन नसकेको रुपमा बुझ्नुपर्छ।’ 

345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका