जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • झन्–झन् सस्तिँदै कर्जाको ब्याजदर

झन्–झन् सस्तिँदै कर्जाको ब्याजदर

वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर झन्–झन् सस्तिँदै गएको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा कर्जा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै गएको हो । यस्तो ब्याज तीन महिनामै मात्रै १५ प्रतिशतसम्म घटेको छ भने अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतसम्म घटेको वाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा आधारित तथ्यांकले देखाएको छ । बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तो हुन पुगेको हो । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरणमा उल्लेखित आधार दर असार मसान्तको तुलनामा ०.३४ देखि १.४१ प्रतिशत विन्दुसम्मले घटेको छ । यसरी कर्जाको लागत धेरै घटेका बैंकहरुमा कुमारी बैंक, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक र एनएमबि बैंक अगाडि छन् । यी बैंकहरुको ब्याज लागत तीन महिनामै १० प्रतिशत भन्दा धेरैले घटेको पाइएको छ ।

तीन महिनाको अवधिका कुमारी बैंकको आधारदर सर्वाधिक १.४१ प्रतिशत विन्दुले घटेको छ । त्यस्तै, नेपाल बैंकले १.२५, स्ट्यान्डर्ड चार्टर्डले ०.८९, कृषि विकास बैंकले १.०२ र एनएमबि बैंकले ०.९३ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । यही अवधिमा बेसरेट घटाएका बैंकहरुमा ग्लोबल आईएमई ०.८०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ०.७४, एनआईसी एशिया ०.८२, एभरेस्ट ०.६५, लक्ष्मी सनराइज ०.७३, राष्ट्रिय वाणिज्य ०.५६, हिमालयन ०.७३, नबिल ०.६१, माछापुच्छ्रे ०.६५, सानिमा, नेपाल एसबीआई ०.५८, प्राइम कमर्शियल ०.५७, सिद्धार्थ ०.५३, प्रभु ०.३७ र सिटिजन्स ०.३४ रहेका छन् । बैंकहरुले ऋण दिँदा दुई प्रकारले ब्याजदर निर्धारण गर्ने गर्दछन्, स्थिर ब्याजदर प्रणाली र गतिशील ब्याजदर प्रणाली । स्थिर ब्याजदर अनुसार ऋण लिएका ग्राहकको ब्याजदर घटबढ हुँदैन । गतिशील ब्याजदर प्रणालीअनुसार ऋण लिएका ग्राहकको हकमा भने जोखिम प्रिमियमलाई यथावत् राखेर परिवर्तित आधार दर अनुसार ब्याजदर घटबढ हुने व्यवस्था छ ।


उल्लेखित दरले असोज महिनादेखि कुन बैंकको ब्याजदर कति घट्यो भन्ने देखाउँछ । आधारदर कात्तिक महिनामा कायम हुने ब्याजदरमा स्वतः समायोजन हुनेछ । उदाहरणको लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा यसअघि ६.६ प्रतिशत आधार दर हुँदा २ प्रतिशत जोखिम प्रिमियमसहित ८.६ प्रतिशत ब्याज तिरिरहेका ऋणीले ०.८९ प्रतिशत विन्दु कम अर्थात् ७.७१ प्रतिशत मात्रै ब्याज तिर्नु पर्नेछ । यही अवस्था अरु बैंकमा समेत लागु हुनेछ । असोज मसान्तमा सबैभन्दा आधार दर कायम गर्न सफल बैंकमा स्ट्यान्डर्ड चार्टर्ड पहिलो स्थानमा छ । उक्त बैंकले यो दरलाई ५.७१ प्रतिशतमा कायम गरेको छ । यसबाहेक राष्ट्रिय वाणिज्य बैंक ६.१५, नेपाल बैंक ६.७२, एभरेस्ट बैंक ६.८०, नबिल बैंक ७.०२, कृषि विकास बैंक ७.०७, नेपाल इन्भेष्टमेन्ट बैंक ७.०८, सानिमा बैंक ७.२४, ग्लोबल आईएमई बैंक ७.२९ तथा कुमारी बैंक ७.४८ प्रतिशत आधारदर कायम गरेका छन् ।

त्यस्तै, एनएमबि बैंक ७.४९, सिद्धार्थ बैंक ७.५८, माछापुच्छ्रे बैंक ७.६१, प्रभु बैंक ७.६५, नेपाल एसबीआई बैंक ७.७२, लक्ष्मी सनराइज बैंक ७.७९, प्राइम कमर्शियल बैंक ७.९२, सिटिजन्स बैंक ७.९२, हिमालयन बैंक ८.३५ तथा एनआईसी एशिया बैंक ८.३७ प्रतिशत सहित तुलनात्मक रुपमा धेरै आधारदर भएका बैंकको रुपमा छन् । बैंकहरुले कस्ट अफ फण्ड, प्रशासनिक खर्च, अनिवार्य नगद मौज्दातबापतको लागतमा ०.२५ प्रतिशत जोडेर आधारदर गणना गर्ने व्यवस्था छ । यसरी कायम हुने दरमा कर्जाको जोखिमका आधारमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले ब्याजदर निर्धारण गर्दै आएका छन् । कात्तिक महिनाका लागि तोकेको ब्याजदर अनुसार बैंकहरुले आधार दरमा सामान्यतया २ देखि ४ प्रतिशतसम्म प्रिमियम निर्धारण गरेका छन् ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका