एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ ।
सिटिजन्स बैंकको सफ्टवेयर पनि एफ वान सफ्टले नै निर्माण गरेको थियो। त्यसपछि एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो। उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हाे ।ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको एसपी अवस्थीले बताए। ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।
साइबर ब्यूरो स्रोतका अनुसार अनुसन्धानका क्रममा ह्याकमा युकेको ‘आईपी एड्रेस’ देखिएको छ । यद्यपि, ह्याकरको समूहले अन्य ठाउँहरूबाटै ह्याक गरेर ‘आईपी एड्रेस’ फरक ठाउँका राखेको हुनसक्ने आशंका पनि गरिएको छ ।
२४ जनाको खातामा रकम ट्रान्सफर गरेपछि त्यहाँबाट दोस्रो लेअरमा करिब ५ सय जनाको बैंक खाता प्रयोग गरिएको खुलेको एसपी अवस्थी बताउँछन् । विभिन्न लेअरमा बसेर ह्याकरको समूहले नेपालीलाई प्रयोग गरेर रकम बाहिर लगेको भेटिएको छ ।
१ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटक-पटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो। पक्राउ परेकाहरूले आफ्नो खाता प्रयोग गरे वापत केही रकम बुझेको देखिएको साइबर ब्यूरोले जनाएको छ ।