जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बिग मर्जरको हल्लाले शेयर बजार चम्कियो

बिग मर्जरको हल्लाले शेयर बजार चम्कियो

विगत १ वर्ष भन्दा बढि शेयर बजारले लगानीकर्ताहरुलाई घर न घाट बनाएको थियो । मंहगोमा किनेको शेयर दुई गुणा बढि घटेपछि लगानीकर्ताहरुमा निराशा बढेर गएको थियो । तर नयाँ वर्ष २०७६ संगै शेयर बजारले चमत्कारनै शुरु गरेको छ । २८ वाणिज्य बैंकहरुलाई बिग मर्जर गरि १३÷१४ वटा बनाउने हल्ला बजारमा आएसंगै शेयर बजार हरियो भएको छ ।

केही समय पछि आउने सरकारको बजेटमा वाणिज्य बैंकहरु बीच बिच मर्जर गर्ने प्रस्ताव आउने र बैंकहरु बीच बिग मर्जर हुने विश्वाससंगै शेयर बजार चम्किएको देखिन्छ । बैंकहरुमा पटक÷पटक तरलता अभाव हुने, लगानी योग्य रकम अभाव हुने, ठुला आयोजनामा लगानी गर्दा ४÷५ वटा वाणिज्य बैंकहरुले लगानी गर्नुपर्ने बाध्यतामा रहेको र बैंकका अध्यक्ष, संचालक र सीइओहरु नै बिग मर्जरको पक्षमा उभिदै गएपछि बिग मर्ज हुने नै हो कि जस्तो देखिएको छ ।

बेला बखत अर्थमन्त्री डा. युवराज खतिवडाले बिग मर्जर आवश्यकता भएको बताउँदै आएका छन् । भने राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपाल आफ्नै कार्यकालमा २८ वाणिज्य बैंकहरुलाई १३÷१४ मा झार्ने पक्षमा उभिएका छन् । केही बैंकहरुले बिग मर्जर गर्ने बारे समकक्षी बैंकहरुसंग छलफल नै शुरु गरेको समाचार लगातार आएपछि शेयर बजारले हरियो बत्ति बाल्न शुरु गरेको देखिन्छ । धेरै बैंक तथा वित्तीय संस्था हुँदा अनुगमन गर्न अप्ठ्यारो हुने भन्दै विश्व बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउन फेरि नेपाल राष्ट्र बैंकलाई दबाब दिन शुरु गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चार गुणासम्म चुक्ता पुँजी पुर्याउने निर्णय गरे पनि विकास बैंक र वित्त कम्पनीको मात्रै संख्या घटेकाले वाणिज्य बैंकको संख्या घटाउन विश्व बैंकले पुनः दबाब दिएको देखिन्छ ।

चुक्ता पुँजी वृद्धि गरेको छोटो अवधिमा नै फेरि विश्व बैंकको अर्को दबाब आएपछि अब के गर्ने भन्ने सोचाइमा राष्ट्र बैंक पुगेको छ । विश्व बैंकले यसअघि पनि वाणिज्य बैंकहरुको संख्या १२ देखि १४ को हाराहारीमा राख्न सुझाव दिँदै आएको थियो । तर, राष्ट्र बैंकले त्यसलाई कार्यान्वयनमा ल्याएको थिएन । यसपटक संख्या घटाएरै १४ वटामा सीमित गर्न राष्ट्र बैंक दबाब दिइरहेको एक डिपुटी गर्भनरले राजतिलक साप्ताहिकसंग बताए । दुई अर्ब पूँजी भएका वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब पुर्याउँदा पनि संख्या नघटेपछि राष्ट्र बैंक पनि चिन्तित छ ।

चुक्ता पुँजी बढाउँदा पनि वाणिज्य बैंकको संख्या नघटेपछि गभर्नर डा. चिरनजीवी नेपालले पुनः दबाब खेप्नु परेको राष्ट्र बैंक उच्च स्रोतले बतायो । यतिबेला गर्भनर नेपाल कसरी बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन सकिन्छ भन्ने उपायको खोजीमा लागेको देखिन्छ । तर, गर्भनर नेपालले उपयुक्त उपाय निकाल्न भने सकिरहेका अवस्था अझै छैन ।

गभर्नर नेपालले घुमाउरो पारामा अझै पनि बैंकको चुक्ता पुँजी बढ्न सक्ने संकेत दिँदै आएका छन् । केही दिन अघि एक सार्वजनिक कार्यक्रममा गभर्नर नेपालले दुई अर्ब पूँजी भएका बैंकको चुक्ता पुँजी बढाएर आठ अर्ब पुुर्याउँदा गाली गर्नेहरु अहिले आठ अर्ब चुक्ता पुँजी पनि कम भएको बताउँन थालेको जनाएका थिए ।

यसको अर्थ आगामी मौद्रिक नीतिमा हकप्रद जारी नगरी वाणिज्य बैैंकहरुकोको पुँजी दोब्बर बनाउन सक्ने सम्भावना बढेको सरोकारवालाहरु बताउँछन् । बैंकरहरुको मनसाय बुझ्न गभर्नर नेपालले त्यस्तो अस्त्र फ्याँकेको बताइन्छ । उनको त्यस्तो अभिव्यक्तिलाई बैंकरहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । आगामी मौद्रिक नीतिमा चुक्ता पुँजी पुनः बढाएर वाणिज्य बैंकको संख्या घटाउने नीति गर्भनर नेपालले ल्याएमा आचश्र्य नमाने हुने भएको छ ।

चुक्ता पुँजी बढाएपछि २८ वटा वाणिज्य बैंकलाई एक दर्जनभन्दा कम संख्यामा झार्न सकिने अनुमान यसअघि उनले गरेका थिए । तर, त्यो सफल हुन सकेन । हाल २८ वाणिज्य बैंक सञ्चालनमा छन् । तर, ती वाणिज्य बैंकलाई अझै घटाउन सक्ने सामर्थ उनीमा तत्कालका लागि देखिएको छैन ।

तर, विश्व बैंकले भने गर्भनर नेपाललाई दबाब दिइरहेको छ । उनले न विश्व बैंकलाई घटाउँछु भन्न सकेका छन, न त कुनै तरिकाले बैंकको संख्या घटाउने उपाय निकाल्न सकेका छन् । अहिले गभर्नर नेपाल दोधारमा छन् । तर, उनीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले साथ दिने संकेत देखिएको छ ।

सार्कस्तरमै नेपालमा वाणिज्य बैंक संख्या बढी छ । यसअघि सार्क मुलुकमा वाणिज्य बैंकको चुक्ता पुँजी सबैैभन्दा कम भएको भन्दै विश्व बैंकले चुक्ता पुँजी बढाएर संख्या घटाउन सकिने सुझाव दिएको थियो । त्यसैअनुसार चुक्ता पुँजी बढाउँदा पनि संख्या भने घटेन । बैंक सञ्चालकहरुले अर्को बैंकबाट ऋण लिएर भए पनि हकप्रदको माध्यमबाट लगानी थपेर चुक्ता पुँजी बढाउन थालेपछि केन्द्रीय बैंकलाई अप्ठ्यारोमा परेको देखिन्छ ।

यसअघि पनि चुक्ता पुँजी बढाउने विषयलाई राष्ट्र बैंकले घुमाउरो पारामा नेपालका बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी सार्क राष्ट्र«मै कम भएकाले बढाउनुपर्ने स्थिति आएको बताउँदै आएको थियो । मोही माग्ने ढुङग्रो लुकाउने भने जस्तै विश्व बैंकको दबाबमा संख्या घटाउन चुक्ता पुँजीको प्रावधान ल्याएको भन्न उसले सकेको थिएनन् ।

ठूला आयोजनामा लगानी गर्न ५–६ वटा वाणिज्य बैंक मिलेर आउनुपर्ने स्थिति भएकाले त्यसबाट मुक्ति दिलाउन पनि पुँजी बढाउनु परेको राष्ट्र बैंकले तर्क गर्दै आएको थियो । तर, उसले विश्व बैंकको दबाबका कारण पुँजी बढाउनु परेको अहिलेसम्म भनेको छैन र अब पनि भन्ने पक्षमा छैनन् ।

राष्ट्र बैंकले फेरि अहिले चुक्ता पुँजीको अस्त्र ल्याउने सम्भावना बढेको छ । छोटो अवधिमा राष्ट्र« बैंकले पुँजी बढाउने योजना ल्याए पनि बैंक तथा वित्तीय संस्थाले त्यसलाई सजिलैसँग लिन सक्ने सम्भावना भने छैन । यसकारण पनि बिग मर्जरको आवश्यकता देखिन्छ ।

पछिल्लो समय बैंकहरुबीच बिग मर्जरको चर्चा निकै बढेको छ । गत मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञाानेन्द्र प्रसाद ढुंगानाले आयकरमा छुट दिएमा बैंकहरु मर्जरमा जाने बताएका छन् । यसले पनि फेरि एकपटक बैंकहरु मर्जरमा जाने विषय चर्चामा आएको हो ।

अर्थमन्त्री खतिवडाले पनि कर सुविधाको विषयमा सकारात्मक हुँदै छलफल गर्न सकिने बताए । नेपाल राष्ट्र बैंकले बैंकर्स र सञ्चालकलाई बेलाएर मर्जरमा जानका लागि सुझाव दिदै आएको छ । यसले गर्दा बैंकहरुबीच पनि मर्जरको विषयमा ब्यापक चर्चा चलेको छ । यसै कारणले १ वर्ष रातो बत्ती बलेको शेयर बजारले हरियो बत्ती बाल्न थालेको देखिन्छ ।

विगतमा केही वाणिज्य बैंकहरुले मर्जरको लागि गरेको प्रयास असफल भएको देखिन्छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले पनि मर्जरको लागि सम्झौता गरेका थिए । तर दुई बैंकबीचको मर्जर अन्तिम समयमा तुहिएको थियो ।

लक्ष्मी र एभरेष्ट बैंकबीच पनि मर्जर हुने कुरा चल्दाचल्दै पछिल्लो समय आएर उक्त विषय तुहिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकको पनि मर्जरको कुरा चलेको थियो तर त्यो विषय पनि कुरैमा सिमित हुन पुग्यो । यी र यस्ता कारणले बिग मर्गर सजिलो त छैन ।

प्रभु, ग्लोबल आईएमई, माच्छापुच्छ्रे बैंक लगायतका आधा दर्जन भन्दा बढि बैंकहरुले उपयुक्त संस्थासँग मर्जमा जान सकिने भन्दै प्रस्ताव समेत पास गरेर बसेको अवस्था त जिवितै छ ।
नयाँ वर्षको सुरुवातदेखि नै बजारमा वाणिज्य बैंकहरुको सेयर चम्किएका छन् । लगानीकर्ताहरु बिग मर्जरको मसलेदार खबरबाट मात्र प्रभावित छन्, मोटो लाभांश पाउने आशामा समेत दोश्रो बजारबाट वाणिज्य बैंकको सेयर उठाइरहेका छन् ।

गत बुधबार समेत बैंकिंग समूह नै चम्किँदा वाणिज्य बैंकहरुको आकर्षण थप प्रमाणित भयो । नेप्सेमा वाणिज्य बैंकहरुको बोलवाला रहेकोले यो समूहको सूचक चम्किएपछि समग्र बजार माथि उठ्ने देखिन्छ । राजतिलक साप्ताहिकबाट साभार

10315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका