जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिखरलाई ‘नम्बर वान’ नै कायम राख्न सकिन्छ : सीईओ पाण्डे

शिखरलाई ‘नम्बर वान’ नै कायम राख्न सकिन्छ : सीईओ पाण्डे

मेरो २९ वर्षको बुझाईमा बीमा यस्तो मार्केट हो जहाँ बीमितको विश्वास जित्नुपर्छ । बीमितको विश्वास जित्नलाई दावी तिर्नुपर्छ । बीमितको जति दावी तिर्यो त्यति बीमा बजार बढ्दो रहेछ । यसको लागि मेरो सञ्चालक समिति र मेरो टीमलाई धेरै धन्यवाद पनि दिन चाहान्छु । समितिले विश्वास गरेर दिएको अधिकारलाई हाम्रो टीमले कार्यान्वयन गरेको छ । यसले गर्दा सर्वसाधारणमा शिखर प्रतिको विश्वास बढेको छ, जसले गर्दा हाम्रो बीमा बजार बढ्दै गएको छ ।

कृषि र लघुबीमा नेपालको लागि आवश्यकता हो । हामी तथा सञ्चालक समितिको प्रिन्सिपल के छ भने नेपाली जनताको आर्थिक अवस्थामा सुधार आयो भने बीमा बजारमा आफै सुधार आउँछ । आजको दिनमा बीमा बजार किन बढेन भन्ने हो भने बीमा हाम्रो बीमितको क्रयशक्तिसँग टाई अप छ । आजको आवश्यकता नै उहाँहरुले पूर्ति गर्न सक्नुभएन भने भोलिको लागि सोच्ने कुरै आएन । बीमा भनेको भोलिको लागि हो । आज त आजको आवश्यकता महत्वपूर्ण हुन्छ । त्यसैले आर्थिक अवस्था उन्नत्ति भयो भने मात्रै मान्छेले सुरक्षा खोज्न थाल्छ । यो अवस्थामा मात्रै बीमा बजार बढ्छ ।

हामीले किसान तथा न्यून वर्गमाझ लघुबीमा लान सक्यौं भने उहाँहरुको आर्थिक अवस्था उकासिन्छ । सोही अनुसार हामी उहाँहरु माझ पुगेका छन् । ९ करोडबाट २२ करोड, २२ करोडबाट ३६ करोडको बीमा गरेका थियौं । चालु आवमा करिब ६० करोड र आउँदो आवमा १०० करोडको लघुबीमा व्यवसाय गर्ने हाम्रो टार्गेट छ । यसको लागि शाखा कार्यालय विस्तार गर्नुपर्ने हुन्छ । सोही अनुरुप हामीले शाखा कार्यालय बढाउँदै गएका छौं । हामीले आज ११० वटा शाखा सञ्चालनमा ल्याएका छौं ।

शिखरको लगानी बढ्दो क्रममा छ । आजको दिनमा करिब ४२५ करोड बढीको लगानी भइसकेको छ । कम्पनीले मुद्दति निक्षेपमा २७१ करोड, ऋणपत्रमा ६६ करोड, नेपाल पुनर्बीमा कम्पनीमा १६ करोड २० लाख, सेयरमा १८ करोड ७७ लाख जसमा ४ करोडको जतिको इम्प्याक्ट परेको हो । तर आजको दिनमा हामी सेयर लगानीमा नोक्सानमा छैनौं । विभिन्न बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयरमा कूल ९ करोड ४५ लाख र पूर्वाधार क्षेत्रमा १७ करोड ४४ लाखको लगानी छ । दीर्घकालिन लगानी ९ करोड ४५ लाख थियो भने अहिले बढेर १७ करोड पुगेको छ । हालको पूर्वाधार क्षेत्रको प्रोजेक्टले दीर्घकालमा हामीलाई राम्रै प्रतिफल दिने विश्वास छ ।

३ लाख ४३ हजार बीमा पोलिसी पुगेको कम्पनीको अहिले झरेर २ लाख ३५ हजार पुगेको देखिन्छ । यो किन घट्यो भने नेपालमा मोटरसाइकल बीमामा एकदमै अस्वस्थ प्रतिस्पर्धा हुन थाल्यो । लगभग ३५ वटा यतायात कार्यालयहरुमध्ये हामी ३२ वटाबाट बीमा गर्थ्यौं । यसमा अस्वस्थ प्रतिस्पर्धा बढ्न थालेपछि सबै बीमा कम्पनी र बीमा प्राधिकरण मिलेर यसलाई मार्केट पुल बनाऔं भनेपछि एउटा कार्यालयमा दुई तीन वटा कम्पनी मात्रै राखौं भन्ने भयो । सो अनुसार ३२ वटाबाट बीमा गरेका हामीले तीन वटा कार्यालय (प्रदेश नम्बर १, मधेष प्रदेश र बागमती प्रदेश) बाट मात्रै पोलिसी जारी गर्ने भएको हुनाले जारी बीमालेखको संख्या घटेको हो । अब विभिन्न शाखा विस्तार गरेर अघि बढेपछि चालु आवमा ३ लाखको पोलिसी जारी गर्नेछौं ।

शरहमूखी मात्रै नभई गाउँ केन्द्रित रहने शिखर पहिलो कम्पनी हो । हाल कम्पनीको शाखा कार्यालय ११० वटा पुगेको छ । यी शाखाबाट उत्साहजनक प्रगति भएको छ । जुम्ला, हुम्ला, मुगु र कालिकोट यी चार वटा जिल्लामा ६ वर्ष अघि हामीले बीमा गर्दा जम्मा २ लाखको बीमाशुल्क उठेको थियो भने यो आवमा लगभग २२ करोडको बीमाशुल्क संकलन भएको छ । स्याउको बीमा परिकल्पना गर्ने त्यहाँका कृषकले आज वास्तवमै गर्नुभएको छ । त्यहाँका कृषकहरुले फुँजी ब्राण्डको स्याउँ बीमा रोप्न थालिसक्नु भएको छ । यसले बीमा बजार बढ्दै गएको देखाउँछ ।

कृषि बीमा फष्टाउनुको कारण नेपाल सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदा हो । आजको दिनमा किसानहरु ‘बरु अनुदान चाहिँदैन बीमा हाम्रो आवश्यकता हो, शिखर इन्स्योरेन्सले गरेको छ, यसलाई धन्यवाद, हामी यो बीमा गर्छौं’ भनेर अघि बढ्नु भएकोले हामी उत्साहित छौं । त्यसैले आगामी दिनमा बीमाको भविष्य कृषि बीमामा त्यो पनि दुर्गम क्षेत्रमा देख्छु म ।

हामी एउटा ग्रोथ मोडमा गएका छौं । दुई वर्षमा हामी बीमाशुल्कमा ३५० करोडबाट ५०० करोडको ग्रोथमा पुग्यौं । यसरी कम्पनी बलियो हुँदै गएको छ तर व्यवसाय बढेको अनुसार कम्पनीका सेयरधनीलाई दिनु पर्ने प्रतिफल आएको हुँदैन । सायद चालु आवमा हामी ५५० देखि ६०० करोडको हाराहारीमा बीमाशुल्क संकलन गर्छौं । त्यसपछि हामी कन्सोलेडेसन मोडमा जान्छौं । त्यसपछि रिजर्भहरुबाट कम्पनीमा प्रतिफल आउन थाल्छ र फेरि रिटर्न दिन सक्छौं । त्यो कारणले नाफामा केही असर परेको हो । शाखा विस्तार गरिसकेपछि स्ट्रङ भएर अघि बढेपछि लगानीकर्ताको अपेक्षाअनुसारको प्रतिफल वितरण गर्न हामी सक्षम हुन्छौं ।

शिखरको स्ट्रेन्थ के ?

कम्पनीको सल्भेन्सी मार्जिन राम्रो छ । जस्तै, आज मसँग एक रुपैयाँ छ । तर मैले २ रुपैयाँको जोखिम लिएँ भने म इन्सल्भेन्ट अर्थात बन्द हुन सक्छु । तर आज हाम्रो १०० रुपैयाँको जोखिम छ भने ३२५ रुपैयाँ हामीसँग जगेडा छ । त्यसैले हामी सल्भेन्ट छौं । र, हामीले जति जोखिम लिएका छौं, त्यो तिर्न हामी सक्षम छौं ।

विश्व बजारनै रिक्स बेस्ड क्यापिटलमा गइसकेको छ । नेपालका बीमा कम्पनी पनि आगामी दिनमा यो मोडालिटिमा जान्छन् । त्यस्तै, कम्पनी ओन रिक्स एण्ड सोल्भेन्सी एसेस्मेन्ट (ओआरएसए) सिस्टममा जानुपर्छ । अर्थात कम्पनीले यो बिजनेसमा यति जोखिम लिन्छु भनेर एउटा अनुशासनमा रहेर पोलिसी बनाउनुपर्छ । जुन पोलिसीलाई नियामकले स्वीकृत गरेर निगरानीमा राखिरहेको हुन्छ । सोहीअनुसार कम्पनी व्यवस्थापक तथा बोर्डले काम गर्नुपर्छ । यसको लागि हामीले अध्ययन गरि ड्राफ्ट तयार पारिसकेको छ ।

नयाँ बीमा ऐन आएको छ । त्यसमा पुराना निर्देशनहरुलाई समावेश गरिएको छ भने जरिवाना (पेनाल्टी) हरु बढेका छन् । हामीले शुशासनमा धेरै नै जोड दिएका छौं । त्यसैले हामी के मा विश्वास गर्छौं भने हामीले बदमासी गर्नु छैन, हामीलाई डराउनु छैन, हामी पेनाल्टीमा नडराऔं, अगाडि बढौं भन्ने थिममा हाम्रो टीम लागेको छ । यसले कम्पनीको व्यवसाय विस्तारमा राम्रो भूमिका खेल्छ ।

बजारमा स्वस्थ र अस्वस्थ दुई वटै किसिमको प्रतिस्पर्धा छ । हामी स्वस्थ प्रतिस्पर्धासँग डराउँदैनौं । तर अस्वस्थ प्रतिस्पर्धाले हामीलाई धेरै नै असर गरेको हुन्छ । जसले गर्दा कम्पनीले गत वर्ष मात्रै मोटर व्यवसायमा १५ करोड र सम्पत्तिमा झण्डै १० करोडको बिजनेस लुज गर्यो । तर हामीले पहिला नै फोर्सिन गरेर शाखा सञ्जाल विस्तार गरेर नयाँ बीमा बजारमा आफूलाई स्थापना गर्यौं, यसले गर्दा प्रतिस्पर्धाले त्यति असर गरेन । तर आगामी दिन अर्थात दीर्घकालमा यसले असर गर्छ । विद्युतीय युग छ । डिजिटाइजेशनमा जानुपर्छ । हामी पुरानो सफ्टवेयर परिवर्तन गरेर नयाँमा सिफ्ट हुँदैछौं । यसले गर्दा पनि हाम्रो सभा ढिला हुन पुगेको हो ।

उपयुक्त वातावरण भए मर्जरमा जाने

हाम्रो चुक्ता पुँजी २ अर्ब ६५ करोड पुगेको छ । जुन नियामक निकायले तोकेको पुँजीभन्दा बढी हो । त्यसैले पनि हामीलाई मर्जर आवश्यक छैन । तर अन्य कम्पनी धमाधम मर्ज हुँदा हामीलाई चुनौती थपिएको छ । अन्य कम्पनी अगाडि नजाउन् भन्दा पनि हामी अझ अघि कसरी बढ्न सक्छौं ? त्यो ग्याप कसरी कायम राख्न सक्छौं ? त्यतातिर हाम्रो लागि चुनौति छ । आजको दिनमा मर्जरमा गएका कम्पनीभन्दा ४०/५० प्रतिशत बढी प्रिमियम संकलन गर्न सफल भएका छौं । अरु आँकडाहरुमा पनि हामी अगाडि नै छौं । तैपनि उपयुक्त वातावरण भयो भने मर्जरमा जानु पनि पर्छ । प्रतिस्पर्धी बजारमा नम्बर वान कम्पनीको रुपमा रहन यो आवश्यक हुन्छ ।

नयाँ लघुबीमा कम्पनीहरु आएका छन् । त्यसले हामीलाई केही हिट गर्छ नै तर पनि हामीले अहिले नै उक्त बजार क्याप्चर गरिसकेको हुनाले जीवनलाई जति निर्जीवनलाई त्यति धेरै असर पर्दैन होला ।

लगानीकर्तालाई राम्रो प्रतिफल दिने

लगानीकर्तालाई २०/३० प्रतिशतको लाभांशको अपेक्षा छ । यसमा हामी अग्रसर नै छौं तर हामी व्यवस्थापनमा बस्नेलाई रिटर्न अन इन्भेष्टमेन्ट (आरओआई) को प्रेसर जहिल्यै पनि हुने रहेछ । हाम्रो रणनीति कस्तो छ भने एक लेभलसम्मको व्यापार बढाउने, नराम्रो व्यवसायलाई हटाउने र राम्रो बिजनेसलाई लिएर अगाडि बढ्ने हो ।

हाम्रो लाभांशदरमा केही संकुचन आएको छ । आगामी दिनमा यसलाई स्टेबल गर्दै जान्छौं । तर यो भन्दैमा यो वर्ष नै बढ्छ भन्ने होइन । तीन वर्ष अगाडि ५ वर्षमा भनेको थिएँ, अहिले तीन वर्ष भयो । यो चौथो वर्षमा केही लक्षण देख्नुहुन्छ । र, अर्को पाँचौं वर्षमा राम्रै प्रतिफल दिएर अगाडि बढ्न सक्छौं ।

शिखर इन्स्योरेन्सको १६ प्रतिशत लाभांश पारित, पूँजी दुई अर्ब ६५ करोड नाघ्यो
अन्त्यमा, विभिन्न चुनौतिका बावजुद पनि हामी आजको दिनसम्म नाफामा छौं । अब चालु आर्थिक वर्षदेखि हामी उकालोतर्फ लाग्छौं । हाम्रो ओरालो जाने क्रम सकियो जस्तो लाग्छ ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका