जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)बीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ।

स्थानीय, प्रदेश सरकार र सरोकारवाला संघसंस्थाहरुसँगको साझेदारीमा यही २०८० सालभित्र ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न गर्ने गरी भएको उक्त सम्झौतापत्रमा सिबिफनका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एनबिआईका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन्।

सिबिफिनका अध्यक्ष गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवर्द्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरुको प्रवर्द्धनलगायत विषयहरुमा शिखर सम्मेलन केन्द्रित रहने बताए। उनले प्रदेश तथा स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्वगण, बुद्धिजीवी, उद्यमी–व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै प्रचूर सम्भावनाका क्षेत्रहरुको पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा राखिएको बताए।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेसन अफ नेपालिज एक्सपोटर्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढााथोकी, फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतले संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलोपटक आयोजना हुन लागेकोले स्थानीय र प्रदेश सरकारहरुसँगको सहकार्य र साझेदारीमा कार्यान्वयन गर्न सकिने व्यावसायिक परियोजनाहरुलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए। अर्थतन्त्रले भोगिरहेका वर्तमान चुनौती र समाधानका लागि नेपाल सरकार तथा मातहतका निकायहरुमा सुझाव पेस गर्ने, वित्तीय क्षेत्रको सुधार तथा स्तरोन्नति, ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन पुग्ने गरी प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलनले भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ थियो।

नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष गैरेले सम्मेलनमा आयोजक र स्थानीय र प्रदेशसरकारबिच साझेदारी सम्झौता, भिडियो प्रदर्शनी, स्थानीय तहका उद्यमीले उत्पादन गरेको मौलिक उत्पादनहरुको प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाको लगानी मोडेल र यसबाट प्राप्त हुने उपलब्धि, वित्तीय पहुँच र साक्षरता र बैंक तथा वित्तीय संस्थाहरुको प्रवर्द्धनलगायतका विषयमा अर्थपूर्ण छलफल र निष्कर्ष निकालिने जानकारी दिए।

सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र उपाध्यक्ष राजेश उपाध्यायले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्नतिसहित दिगो र फराकिलो आर्थिक विकासका लागि टेवा पुर्याउने गरी उच्चस्तरीय सञ्जालको निर्माण गर्न व्यवसाय शिखर सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।

स्थानीय र प्रदेशस्तरमा उद्यमशीलता प्रवर्द्धनका लागि प्राथमिकता प्राप्त क्षेत्रको पहिचान, सोको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विद्यमान अवसर र बजार अवस्थाबारे तथ्यपरक प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदन कार्यान्वयनका लागि ३ तहकै सरकारसँग पहल गर्ने व्यवसाय शिखर सम्मेलनको उद्देश्य रहेको छ। समग्र उद्योगी–व्यवसायीले भोगिरहेका समस्या र त्यसको समाधानका सम्वन्धमा स्थानीय, प्रदेश र संघीय सरकारको उच्च नेतृत्वसँग संवाद गरी समाधानका लागि पहल गर्ने, सरकार र बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितिमा उद्यम दर्ता तथा परामर्श केन्द्र सञ्चालन गर्ने, वित्तीय संस्थाबाट उत्पादन, रोजगार र निर्यातमूलक क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सहजीकरण गर्ने, स्थानीयस्तरका उद्यमीहरुले उत्पादन गरेका नेपाली उत्पादनको प्रचारप्रसार र प्रवर्द्धनका लागि सहयोग पुर्याउने र स्थानीय प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटको दिशानिर्देशबारे छलफल गरी प्राप्त सुझावहरु सम्बन्धित निकायहरुलाई पृष्ठपोषण गरिनेछ। स्थानीय, प्रदेश र संघीय सरकारसँग उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाबीचको दूरी कम र विश्वासनीयतालाई प्रगाढ बनाउँदै सरकारले ल्याएको बजेट र कार्यक्रमलाई लगानीकर्ता तथा उद्यमीमैत्री बनाउन पहल गर्ने, हरेक स्थानीय तहमा वित्तीय संस्थाको पँहुच अभिवृद्धि, उत्पादनमूलक क्षेत्रमा लगानी प्रवर्द्धन, प्रदेशभित्र दिगो लगानीको वातावरण निमार्ण गर्न पहल गरिनेछ।

दुई दर्जनभन्दा बढी सरोकारवाला संस्थाहरुको साझेदारिता रहने व्यवसाय शिखर सम्मेलन आगामी असोज दोस्रो हप्ताबाट प्रारम्भ गरी माघ मसान्तसम्म ७ वटै प्रदेशमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढी वक्ता र करिव ३०० जना उद्यमी–व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहनेछ।

960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका