Breaking News
लघुवित्त खारेजी सहित ९ माग राख्दै ज्ञवालीको नेतृत्वमा देशब्यापी आन्दोलन घोषणा


मनिराम ज्ञवाली नेतृत्वको लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले देशब्यापी आन्दोलनको घोषणा गरेको छ। संघर्ष समितिले आज पत्रकार सम्मेलन मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
संघर्ष समितिले लघुवित्त संस्था नै खारेजी लगायतका ९ बुँदे माग राखेको छ । २०८० साल श्रावण १४ गते देखि उठाएका ५ बुँदे मागहरुको विषयमा निरन्तर वार्ता र संवाद चलिरहंदा पनि गरिब र विपन्न वर्गको नाममा आर्थिक र सामाजिक शोषण गरिरहेको विषयमा हालसम्म पनि कुनै निकासको सम्भावना नदेखिएकाले थप ४ बुंदा मागहरु सहित आन्दोलनमा जाने निर्णय गरेको मनिराम ज्ञवालीले बताए। लघुवित्त क्षेत्रको समस्या समाधानको लागि छिटो भन्दा छिटो निकास निकाल्न उनले आग्रह गरेका छन् ।
यस्ता छन् ९ बुँदे माग :
१. नवसामन्तिको रुपमा स्थापित लघुवित्त तथा वित्तिय संस्थाहरु खारेज गर्नु पर्ने।
२. लघुवित्तिय संस्थाहरुद्धारा लगाईएको सामुहिक ऋण मिनाहा गर्नु पर्ने।
३. आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नु पर्ने।
४. आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नु पर्ने।
५. समाजवादी अर्थतन्त्रको बिकास गर्नु पर्ने।
६. जनपक्षीय मौद्रिक निति कायम गर्नु पर्ने।
७. कालोसुची तथा धितो लिलाम फुकुवा गर्नु पर्ने।
८. भूमीहिन तथा वित्तिय शोषणका पिडीतहरुलाई मुआब्जाको व्यवस्था गर्नु पर्ने।
९. प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था गर्नु पर्ने।
यस्ता छन् संघर्ष समितिले अघि सारेको आन्दोलनका कार्यक्रम
१. २०८० साल मंसिर ५ गते काठमांडौ लगायत विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने ।
२. २०८० मंसिर १५ गते देखि देशव्यापि रुपमा विरोध प्रदर्शन जारी राख्ने।
३. २०८० मंसिर २६ गते राष्ट्र बैंक केन्द्रित आन्दोलन प्रदेश सम्मेलन सहित सुदुर पश्चिमबाट शुरु गर्ने ।
२०८० पुस ३ गते कर्णाली प्रदेश
२०८० पुस ८ गते लुम्बिनी प्रदेश
२०८० पुस १३ गते गण्डकी प्रदेश
२०८० पुस १७ गते बागमती प्रदेश
२०८० पुस २४ गते मधेस प्रदेश
२०८० माघ ७ गते कोशी प्रदेश
४. २०८० माघ १६ र १७ गते राष्ट्रिय सम्मेलन गर्ने ।
५. २०८० फाल्गुण १ गतेदेखि काठमांडौ केन्द्रित अनिश्चितकालिन धर्ना तथा विरोध प्रदर्शन कार्यक्रम ।
सम्बन्धित समाचार
