
काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले आज सोमबार यौनधन्दामा संलग्न पाँच विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरूमा चार जना युगाण्डाका र एक जना केन्याका नागरिक छन्। उनीहरू भिजिट भिसामा काठमाडौं आउने र ठमेल क्षेत्रलाई अखडा बनाएर रात्रिकालीन समयमा यौनधन्दाका लागि मोलमोलाइ गर्ने गरेको पाइएको छ। पक्राउ परेका २३ देखि ४५ वर्ष उमेर समूहका यी महिलाहरूविरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
ठमेल क्षेत्रमा पछिल्लो समय विदेशी महिलाहरू संलग्न यस्ता गतिविधि बढेपछि प्रहरीले निगरानी र सक्रियता बढाएको छ। यसअघि गत जेठ ८ गते पनि ठमेलबाटै ७ जना युगाण्डाका महिला पक्राउ परेका थिए, जो हाल प्रहरी हिरासतमा छन्। काठमाडौं प्रहरीले ‘सुरक्षित काठमाडौं अभियान’ अन्तर्गत अनैतिक र अवैध गतिविधि विरुद्ध चलाएको अपरेशनका क्रममा पछिल्लो दुई महिनामा मात्रै ४१ जना विदेशी महिला पक्राउ परिसकेका छन्।
प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा अधिकांश भिजिट भिसामा आउने र भिसाको अवधिभर यौनधन्दा गरी रकम कमाएर स्वदेश फर्किने गरेको खुलेको छ। पर्यटकीय क्षेत्रको सुरक्षा र मर्यादा कायम राख्न रात्रीकालीन गस्ती तथा निगरानीलाई थप व्यापक बनाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































