
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग जोडिएका ५६ जना व्यवसायीको शेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ। तर, यस प्रकरणमा भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालसँग निकट सम्बन्ध रहेका हिमालय लाइफ इन्स्योरेन्सका पूर्वसीईओ मनोजलाल कर्णलाई भने अनुसन्धानको दायराबाट बाहिर राखिएको भन्दै आश्चर्य प्रकट गरिएको छ।
सीआईबीले सम्बन्धित कम्पनीका अधिकांश सञ्चालक तथा पदाधिकारीको शेयर रोक्का गर्न निर्देशन दिए पनि कर्णको नाम उक्त सूचीमा समावेश गरिएको छैन। अन्य व्यवसायीहरूको सम्पत्ति रोक्का हुँदा कर्णलाई कुन आधारमा छुट दिइयो भन्ने विषयमा स्वयम् व्यवसायीहरूले नै प्रश्न उठाइरहेका छन्। यद्यपि, यस विषयमा सीआईबीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन।
ब्युरोले गत जेठ ११ गते धितोपत्र बोर्डलाई पत्र लेख्दै भट्टसँग जोडिएका विभिन्न कम्पनीका शेयरधनीहरूको धितोपत्र बजारमा भएको लगानीसम्बन्धी विवरण पठाउन र शेयर रोक्का राख्न अनुरोध गरेको थियो। सीआईबीले विवरण माग गरेका कम्पनीहरूमा मुख्यगरी हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लगायत रहेका छन्। पत्रमा ती कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्य, तथा लगानी समितिका संयोजक र सदस्यहरूको शेयर रोक्का गरी विवरण उपलब्ध गराउन भनिएको छ।
शेयर रोक्काको सूचीमा पर्नेहरूमा हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालकहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्रि सिग्देल, प्रविना दाहाल र सुजत्न मल्ल रहेका छन्। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सका सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला र मनिष कुमारको नाम पनि सूचीमा छ। उक्त सूचीमा हिमालय सेक्युरिटी बैंक, हिमालयन क्यापसर्भ र हिमालयन इन्भेस्टमेन्ट बैंकलगायतका सञ्चालक तथा पदाधिकारीहरू सीताराम वाग्ले, आकांक्षा गुप्ता, शिशिर गैरे, कपिलकुमार दाहाल, राजनप्रसाद अधिकारी, विदुर पुरी, विनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानाङ्गा, सुभाष पौडेल, सालिनी संघाई र प्रतीक जोशीलगायतका ५६ जना व्यवसायी तथा लगानीकर्ताहरू समेटिएका छन्।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































