जोडिनुहोस
शनिबार, असार ६, २०८३
शनिबार, असार ६, २०८३
  • होमपेज
  • बैंकका सीईओको तलब-सुविधामा नयाँ मार्गदर्शन

बैंकका सीईओको तलब-सुविधामा नयाँ मार्गदर्शन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधालाई थप व्यवस्थित, पारदर्शी तथा कार्यसम्पादनमा आधारित बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ । केन्द्रीय बैंकले ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३’ जारी गर्दै नयाँ कानुनी प्रबन्ध गरेको हो । अब सीईओको पारिश्रमिक निर्धारण गर्दा संस्थाको वित्तीय अवस्था, जोखिमको स्तर, व्यवसायको आकार, नाफा, दीर्घकालीन स्थायित्व र सुशासनलाई मुख्य आधार बनाइनेछ ।

मार्गदर्शनअनुसार सीईओको तलब तथा सुविधा निर्धारणका लागि सञ्चालक समितिअन्तर्गत स्वतन्त्र सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय ‘तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समिति’ गठन गर्नुपर्नेछ । सीईओलाई निश्चित वार्षिक तलब तथा भत्ताबाहेक कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । यस्तो रकम सम्पत्तिमा प्रतिफल (आरओए), पुँजीमा प्रतिफल (आरओई), निष्क्रिय कर्जा र नियामकीय पालना जस्ता सूचकका आधारमा निश्चित वार्षिक तलब र भत्ताको बढीमा २० प्रतिशतसम्म मात्र दिन पाइनेछ ।

यसैगरी मार्गदर्शनले अन्य सुविधामा समेत सीमा तोकेको छ । सीईओलाई सेवा अवधिभर एकभन्दा बढी सवारी साधन उपलब्ध गराउन पाइने छैन । व्यावसायिक सदस्यता, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका लगायतका खर्च निश्चित वार्षिक तलब तथा भत्ताको अधिकतम ०.५० प्रतिशतसम्म मात्रै उपलब्ध गराउन पाइनेछ र सोभन्दा बढी खर्च भएमा सम्बन्धित सीईओ वा निर्णयकर्ताबाटै असुलउपर गरिनेछ ।

यो व्यवस्था मार्गदर्शन जारी भएपछि नियुक्त हुने सीईओका हकमा अनिवार्य रूपमा लागू हुनेछ । तर नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेका संस्था, २० प्रतिशतभन्दा बढी विदेशी लगानी भएका संस्था, विदेशी बैंकका शाखा र पुनःसंरचनामा रहेका वित्तीय संस्थाका हकमा भने यो व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर