जोडिनुहोस
मङ्लबार, असार १६, २०८३
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • बीआईएस बैठकमा गभर्नर पौडेल सहभागी

बीआईएस बैठकमा गभर्नर पौडेल सहभागी

विश्व अर्थतन्त्र नयाँ चरणको चुनौतीबाट गुज्रिरहेको बेला नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल विश्वका प्रमुख केन्द्रीय बैंकहरूको साझा मञ्च ‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट’ (बीआईएस) को वार्षिक बैठकमा सहभागी भएका छन्। गभर्नर पौडेलको यस सहभागितालाई नेपालको मौद्रिक नीति र वित्तीय क्षेत्रको अनुभव विश्व मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

अहिले विश्वभरका केन्द्रीय बैंकहरूमा मुद्रास्फीति नियन्त्रण, ब्याजदर व्यवस्थापन, वित्तीय प्रणालीको स्थायित्व, बैंकिङ क्षेत्रका जोखिम, डिजिटल मुद्रा र कृत्रिम बुद्धिमत्ताको प्रयोग जस्ता विषयहरू साझा एजेन्डा बनेका छन्। नेपालको बैंकिङ क्षेत्रमा पनि कर्जा विस्तारको सुस्तता, खराब कर्जा व्यवस्थापन, डिजिटल भुक्तानीको तीव्र विस्तार र वित्तीय समावेशिताको चुनौती कायम रहेकाले बीआईएस जस्तो मञ्चमा हुने छलफल नेपालका लागि अर्थपूर्ण मानिन्छ।

कोभिड–१९ पछि आपूर्ति प्रणालीको अवरोध, उच्च मुद्रास्फीति, भूराजनीतिक तनाव र ब्याजदरको उतारचढावले केन्द्रीय बैंकहरूको भूमिका जटिल बनाएको छ। विकसित अर्थतन्त्रहरू मूल्य स्थायित्व र आर्थिक वृद्धिबीच सन्तुलन खोजिरहेका छन् भने नेपालजस्ता विकासशील मुलुकहरू बाह्य क्षेत्रको दबाब, विदेशी मुद्रा सञ्चिति र वित्तीय पहुँच विस्तारको चुनौतीमा छन्।

यस बैठकमा नेपालको तर्फबाट गभर्नर पौडेलले मुख्यगरी तीनवटा विषयलाई प्राथमिकतामा राख्ने देखिएको छ। जसमा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन र खराब कर्जा नियन्त्रणसहितको वित्तीय स्थायित्व, उत्पादनमूलक क्षेत्रमा वित्तीय स्रोत परिचालन, र प्रविधिमार्फत सुरक्षित वित्तीय सेवा पुर्‍याउने डिजिटल रूपान्तरण रहेका छन्। यस अन्तर्राष्ट्रिय सम्मेलनले अन्य मुलुकका केन्द्रीय बैंक प्रमुखहरूसँग अनौपचारिक भेटवार्ता, अनुभव आदानप्रदान र मौद्रिक नीति सञ्चालनका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाललाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?