स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततालाई छानविन गरी कारवाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र भन्दै महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको ठहर समितिले गरेको छ । यसरी खरिद गरिएका सामान गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्था भएकोले यसमा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष समितिले निकालिएको हो ।
समितिको शुक्रबार बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा गरिएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै दोषीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएको हो । खरिद प्रक्रियामा कसकसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरी कानुनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय आज भएको हो ।
समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो । छलफलमा मन्त्री ढकालले खरिद प्रकरणमा कुनै पनि अनियमितता नभएको दावी गरेका थिए ।
यद्यपि समितिका सदस्यहरूले स्वास्थ्य सामग्री अनियमितताको विषयलाई त्यतिकै टुंगाउने कि छानबिनका लागि लेखी पठाउने विषयमा फरकफरक मत राखेका थिए ।
समितिका सदस्यहरू मीनेन्द्र रिजाल, राजन केसी, प्रदीप यादव लगायतले थप छानविनका लागि अख्तियारलाई लेखि पठाउने निर्णय गर्नुपर्ने पक्षमा थिए भने सांसद प्रेम आलेले यो प्रकरणमा राज्यकोषबाट कुनै खर्च नभएको र ठेकेदार कालोसूचीमा परिसकेको अवस्थामा थप कारबाही गर्नुको औचित्य नभएको धारणा राखेका थिए ।