जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • नाडा अटो शोलाई लक्षित गरी बैंकबीच कर्जाको स्किममा प्रतिस्पर्धा

नाडा अटो शोलाई लक्षित गरी बैंकबीच कर्जाको स्किममा प्रतिस्पर्धा

नाडा अटो शोलाई लक्षित गर्दै वाणिज्य बैंकहरु कसले कम ब्याजदरमा ऋण दिने भन्ने प्रतिस्पर्धामा उत्रिएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा मंगलबार सुरु भएको अटो शोलाई लक्षित गरी विभिन्न सात वटा वाणिज्य बैंकले कर्जाको ‘स्किम’ ल्याएका छन्। बैंकहरुले स्थिर र परिवर्तित ब्याजदरमा अटो कर्जाको ‘स्किम’ ल्याएका छन्। बैंक अनुसार कर्जाको ब्याजदर ६.२३ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म छ। बैंकहरुले परिवर्तितभन्दा स्थिर ब्याजदर केही धेरै राखेका छन्। नाडा शोलाई लक्षित गर्दै नबिल, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, हिमालयन, सानिमा, एनएमबि र कृषि विकास बैंकले ‘स्किम’ ल्याएका छन्।

कृषि विकास बैंकले सबैभन्दा सस्तो ‘स्किम’सार्वजनिक गरेको छ। बैंकले बेस रेटमा ०.३६ प्रतिशत प्रिमियम कायम गरी अटो कर्जाको ‘स्किम’ ल्याएको हो। बैंकको बेसरेट अहिले ५.८७ प्रतिशत छ। यसमा ०.३६ प्रतिशत प्रिमियम जोडेर कृषि विकास बैंकले अटो कर्जा दिनेछ। साथै, कर्जाको प्रोसिसिङ चार्ज ०.७५ प्रतिशत लाग्ने बैंकले जनाएको छ। कृषि विकास बैंकका सूचना अधिकारी हिमालय पौड्यालले ब्याजदर घटेका बेला आक्रामकरुपमा व्यवसाय बिस्तार गर्न स्किम ल्याएको बताएको बताए। ‘घटिरहेको निक्षेपको ब्याजदरले लागत कम भएर बेस रेट तल झरेको छ। यस्तो बेला व्यवसाय बिस्तार गर्न अटो लोनमा न्यून ब्याजदरको स्किम ल्याएका हौं,’ उनले भने।

नाडा अटो शोमा चारपाङ्ग्रे, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र लाइट कमर्सियल सवारीसाधनका ३० वटा स्टल छन्। विभिन्न ब्राण्डका सवारीसाधनले आफ्ना नयाँ मोडल सार्वजनिक गरेका छन्। बीवाइडीले सानो एसयूभी एटो-२ अटो शोमा सार्वजनिक गरेको छ। यो गाडीको मूल्य बिक्रेता कम्पनीले ४३.९९ लाख रुपैयाँ तोकेको छ। व्यवसायीहरुले नयाँ मोडल भित्र्याएर ग्राहकलाई आकर्षित गरिरहँदा नबिल बैंकले ७ वर्ष अवधिको अटो कर्जा ६.७४ प्रतिशत ब्याजदरमा दिने बताएको छ। नबिलले कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लिनेछ।



साथै, ७ वर्ष अवधिको स्थिर दरको अटो कर्जाको ब्याजदर भने नबिलले ८.२५ प्रतिशत तोकेको छ। यसमा ०.२५ प्रतिशत मात्रै सेवा शुल्क लाग्ने नबिलले जनाएको छ। गाडी किन्न चाहनेहरुलाई लक्ष्मी सनराइज बैंकले ७ वर्ष अवधिको अटो कर्जा ७.९९ प्रतिशत स्थिर ब्याजदरमा दिने योजना ल्याएको छ। व्यवसायीहरुका अनुसार अटो शोमा वर्षभरि बिक्री हुने सवारीसाधनमध्ये ३५ देखि ४० प्रतिशत कारोबार हुन्छ। त्यसैले व्यवसायीहरुले अटो शोमा ध्यान केन्द्रित गर्ने गरेका छन्। दसैंको मुखमा गरिएको नाडा अटो शोमा १५ देखि २० अर्ब रुपैयाँको सवारीसाधन बुकिङ हुने व्यवसायीहरुको विश्वास छ। एमएडब्लू वृद्धिले विभिन्न ६ वटा ब्रान्डका सवारीसाधन अटो शोमा राखेको छ। डोङफेङ नामीको भिगो अर्थात नामी०६ नेपाली बजारका लागि नयाँ मोडल हो।

गत वर्षसम्म इन्धन गाडीमा मात्रै ध्यान केन्द्रित गरेको सुजुकीले यो पटक आफ्नो पहिलो इभी ईभिटारा भित्र्याएको छ। ऋणको माग सुस्त रहेर लगानीयोग्य रकम प्रणालीमा थुप्रिरहेका बेला बैंकहरुले पनि अटो शोलाई आफ्नो व्यवसाय बढाउने अवसरस्वरुप स्किम ल्याएका छन्। ग्लोबल आइएमई बैंकले दुई खाले स्किम ल्याएको छ। बैंकले ६.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने बताएको छ। स्थिर ब्याजदर भने केही महँगो छ। ५ वर्षको अटो कर्जाका लागि ग्लोबल आइएमईले ८.२५ प्रतिशत ब्याजदर तोकेको छ। ग्लोबल आइएमई बैंकका सीइओ सुरेन्द्र रेग्मीले लगानीयोग्य रकम थुप्रिएका कारण सस्तो ब्याजदरमा अटाे कर्जाको स्किम ल्याएको बताए। ‘निक्षेप निरन्तर बढिरहेको छ। कर्जाको माग ठिकठिकै छ। निक्षेप थुप्रिनु लागत बढ्नु नै हो। त्यसकारण गाडी किन्न चाहनेहरुका लागि सस्तो ब्याजदरको स्किम ल्याएका हौं,’ उनले भने।

हिमालयन बैंकले ७.५७ प्रतिशत ब्याजदरमा अटो कर्जाको स्किम ल्याएको छ। बैंकले बेस रेटमा ०.८७ प्रतिशत प्रिमियम तोकर अटो कर्जा दिनेछ। बैंकले ८ वर्ष अवधिका लागि यो स्किम ल्याएको हो। सानिमा बैंकले ५ वर्ष अवधिको अटो कर्जाको स्थिर ब्याजदर ७.९९ प्रतिशत तोकेको छ। बैंकले ७ वर्ष अवधिको कर्जामा भने ब्याजदर ८.१५ प्रतिशत कायम गरेको छ। कर्जामा ०.५० प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने बैंकले जनाएको छ। गाडी किन्न चाहनेले एनएमबि बैंकबाट ७.१३ प्रतिशत ब्याजदरमा ऋण पाउने छन्। बैंकले यो ब्याजदर नाडा अटो शो अवधिभर विद्युतीय गाडीका हकमा लागू हुने जनाएको छ।

975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका