जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर

अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर

१ मंसिर, काठमाडौं । मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज अवस्थामा रहेको र कर्जाको माग निक्षेपमा भएको वृद्धिको तुलनामा न्यून हुँदा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत घटाउनमा केन्द्रित हुन लागेका छन् ।

जसले गर्दा मंसिरका लागि निक्षेपको ब्याजदर प्रकाशित गर्दा २० मध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।

५ वटा बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिंदा माछापुच्छ्रे बैंकले भने ब्याजदर बढाएको छ । साउनदेखि लगातार एकल अंक ९.९९ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर मंसिरमा आएर भने बढाएको हो ।

मंसिरका लागि अधिकांश बैंकले ब्याजदर घटाएसँगै वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कलनिक्षेप बाहेक) को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको ब्याजदर सम्बन्धी व्यवस्थामा भनिएको छ ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उक्त निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतम मध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही सीमाभित्र रहेर वाणिज्य बैंकहरुले मंसिरको ब्याजदर प्रकशित गरेका हुन् । कात्तिकको लागि वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिएको अधिकतम ब्याजदरको औसत ९.९६ प्रतिशत रहेकोमा मंसिरमा ०.३५ प्रतिशत विन्दुले घटेर ९.६२ प्रतिशतमा झरेको छ । २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकको मात्रै निक्षेपको ब्याजदर दोहोरो अंक (१० प्रतिशत वा सोभन्दा माथि) रहेको छ ।

मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपमा हिमालन बैंक, माछापुच्छ«े बैंक र नेपाल एसविआई बैंकले सर्वाधिक १०.६०३ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । कात्तिकमा ९.९९ प्रतिशत ब्याजदर रहेको माछापुच्छ्रे बैंकको मात्रै मंसिरमा ब्याजदर बढेको हो ।

कात्तिकमा ११.००३ प्रतिशत ब्याजदर रहेको हिमालयन बैंकको मंसिरमा घटाएको हो भने नेपाल एसबिआई बैंकले पनि कात्तिकमा १०.७ प्रतिशतबाट मंसिरमा ब्याजदर घटाएको हो । प्राइम कमर्सियल बैंकले १०.२५ प्रतिशतमा यथावत राख्दा कुमारी बैंकले १०.०१ प्रतिशत लक्ष्मी सनराइज बैंकले १० प्रतिशत र सिद्धार्थ बैंकले ९.९९ प्रतिशतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत राखेको छ । नेपाल बैंकले पनि ९.२२४ प्रतिशत कात्तिकमा रहेको ब्याजदरलाई नै मंसिरमा पनि निरन्तरता दिएको हो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) केही माथि रहेका बैंकहरुले ब्याजदर माथि राख्दा सहज अवस्थामा रहेको बैैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत भन्दा तल पनि झारेका छन् ।

राष्ट्र बैंकको सीमाभित्र रहेर व्यक्तिगत मुद्धनि निक्षेपमा घटाउन मिल्ने सीमाभित्र रहने गरी ९१ दिनको मुद्दती निक्षेपमा ८.९७ प्रतिशत ब्याजदर प्रकाशित गरेको स्ट्यान्डर्ड चाटर्ड बैंकले अन्य व्यक्तिगत मुद्दती निक्षेपमा भने ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागतमा १ वर्ष माथिका लागि ५.२५ प्रतिशत र त्यसभन्दा कम अवधिको लागि ४.७५ प्रतिशत ब्याजदर तोकेको हो ।

नेपाल राष्ट्र बैंकले बचतको ब्याजदरमा तल्लो सीमा बीचको अन्तर २ प्रतिशत विन्दु भन्दा बढी गर्न नपाउने व्यवस्था गरेको छ । यस्तै व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको तल्लो सीमाबीचको अन्तर पनि ५ प्रतिशत विन्दु भन्दा बढी गर्न नपाउने व्यवस्था छ । तर, व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो र तल्लो सीमाबीचको अन्तर कति गर्न पाउने भन्ने व्यवस्था नरहेकोले स्ट्यान्डर्ड चाटर्ड बैंकले ४ प्रतिशत विन्दु भन्दा धेरै गराएको छ ।

एनआईसी एशिया बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा घटाउन पाउने सीमाभित्र रहेर ८.९ ६८ प्रतिशतमा झारेको छ । बंकले कात्तिकमा ११.००३ प्रतिशत रहेको ब्याजदर मंसिरमा २.०३५ विन्दुले घटाएको हो । एभरेष्ट, प्रभु, सानिमा र राष्ट्रिय वाणिजय बैंकले ९ प्रतिशतमा झारेका छन् ।

मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा नबिल बैंकले अधिकतम ९.१ प्रतिशत व्यजदर प्रकाशित गर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९.५१ प्रतिशत, कृषि विकास बैंकले ९.५१२ प्रतिशत, सिटिजन्स र ग्लोबल आईएमई बैंकले ९.६ प्रतिशत र एनएमबी बैंकले ९.७६ प्रतिशत ब्याजदर प्रकाशित गरेको हो ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका