जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकहरुले अब बीमा सुविधासहितको स्किम ल्याउँदा बीमा कम्पनीको नाम अनिवार्य रुपमा खुलाउनुपर्ने

बैंकहरुले अब बीमा सुविधासहितको स्किम ल्याउँदा बीमा कम्पनीको नाम अनिवार्य रुपमा खुलाउनुपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न खाता तथा स्किममा बीमाको सुविधा राखेका हुन्छन्। केही बैंकले निक्षेप तथा कर्जाका स्किममा निःशुल्क बीमा भनेर प्रचारसमेत गरिरहेका हुन्छन्। तर, अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता स्किममा बीमाको सुविधा राखेर प्रचार गर्दा बीमा कम्पनीको नामसमेत अनिवार्य रुपमा खुलाउनुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बैंक तथा वित्तीय संस्थाले बीमाको सुविधा दिने बैंकलाई बीमा कम्पनीको नामसमेत अनिवार्य उल्लेख गर्नुपर्ने निर्देशन दिएको बताए। बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जाका स्किममा निःशुल्क बीमा भनेर प्रचार गर्दा बीमाको अपव्याख्या भएको पौडेलले बताए। ‘बैंकहरुले बीमा कम्पनीसँग सम्झौता गरेर सामूहिक बीमाको सुविधा दिन सक्छन् तर यसरी निःशुल्क बीमा सेवा भनेर प्रचार गर्न पाइँदैन’, पौडेलले भने, ‘बैंक तथा बीमा कम्पनीबीच बीमा सुविधाका लागि सम्झौता गर्दा बीमा कम्पनीको नामसमेत उल्लेख गर्नुपर्छ भनी प्राधिकरणले निर्देशन दिइएको छ।’

यसका साथै सैद्धान्तिक र व्यवहारिक रुपमा बीमा कहिल्यै पनि निःशुल्क नहुने पौडेलले बताए।

बैंक तथा वित्तीय संस्थाहरुले बीमाको सुविधा भएको स्किमअन्तर्गत निक्षेपकर्ताको बीमाशुल्क बैंक स्वयं आफैँले भुक्तानी गरिदिने भएकाले निःशुल्क शब्द प्रयोग गर्ने गरेका छन्। बैंकहरुले विभिन्न खातामा रहेको सुविधाअन्तर्गत निःशुल्क बीमा शब्द हटाई फलानो कम्पनीको बीमा सुविधा भनेर उल्लेख गर्नुपर्ने पौडेलको भनाइ छ।

केही वर्षअघि बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँग कोड लिई आफैँले बीमा सुविधा दिने हिसाबले बैंकास्योरेन्सको सेवा दिँदै आइरहेका थिए। तर, अभिकर्ताले बैंकास्योरेन्स ऐनविपरीत बलमिच्याइँ भएको भन्दै विरोध गरेका थिए। बैंकहरुले निक्षेपकर्ता तथा ऋणीलाई यसरी डाइरेक्ट बीमाको सुविधा दिन थालेपछि आफूहरुको रोजिरोटी खोसिएको भन्दै अभिकर्ताहरुले बैंकास्योरेन्स रोक्न माग गरेका थिए।

चर्को आलोचनापछि नेपाल राष्ट्र बैंकले वि.सं. २०७६ सालमा बैंकास्योरेन्स सेवा बन्द गरेको थियो। नेपाल बैंकर्स संघले बैंकास्योरेन्स सेवा सुचारु गर्नुपर्ने मागसमेत गरेको थिया।

बैंकास्योरेन्स बन्दपश्चात ग्राहकको संख्या बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीहरुसँग सम्झौता गरी बैंकबाटै नै प्रिमियम तिर्ने गरी यस्तो सेवा दिँदै आइरहेको छ। सानिमा बैंकले मेट लाइफसँग सहकार्य गरी घातक रोगविरुद्ध बीमा सुविधा ल्याएको थियो।

त्यस्तै एनआईसी एसिया बैंकले समेत सर्वश्रेष्ठ बचत खातामा चारजनालाई ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा भन्ने स्किम ल्याएको थियो। एनआईसी एसियाले हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग सहकार्य गरी दुर्घटना बीमाको सुविधा ल्याएको हो।

यसैगरी कामना सेवा विकास बैंकले समेत हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमा सुविधासहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको थियो। बैंक तथा वित्तीय संस्थाले विभिन्न स्किममा बीमाको सुविधा राखेका हुन्छन्। तर, प्रचारप्रसारका लागि बनाइएको पोस्टरमा बीमा कम्पनीको नाम र लोगो उल्लेख गरेका हुँदैनन्।

बैंक तथा वित्तीय संस्थाले बीमाको सुविधा दिने क्रममा बीमा शब्दको अपव्याख्या भएको भन्दै प्राधिकरणले अनिवार्य रुपमा बीमा कम्पनीको नाम उल्लेख गरी निःशुल्क बीमा सेवा भन्न नपाइने जनाएको छ।

1390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका