जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • १० बैंकर पक्राउ परेपछि गृहमन्त्री, सीआईबी र राष्ट्र बैंक पुग्यो बैंकर्स संघ, कसले के भने ?

१० बैंकर पक्राउ परेपछि गृहमन्त्री, सीआईबी र राष्ट्र बैंक पुग्यो बैंकर्स संघ, कसले के भने ?

धितोभन्दा बढी ऋण दिएको आरोपमा १० जना बैंकर पक्राउ परेपछि त्यसबारे जानकारी गराउन पुगेका नेपाल बैंकर्स संघका प्रतिनिधिलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग यसबारे थप जानकारी नभएको जवाफ दिएका छन् ।

मंगलबार तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसी राम गौतम, प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेपछि बैंकर्स संघका प्रतिनिध गृहमन्त्री भेट्न पुगेका थिए ।

बुधबार बिहान बैठक गरेको बैंकर्स संघले बैंकहरुले प्रवाह गर्ने कर्जाका बारेमा गृहमन्त्रीसहित सीआईबीलाई जानकारी गराउने निर्णय गरेपछि उनीहरु गृहमन्त्री श्रेष्ठसँगको भेटका लागि पुगेका थिए ।

भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैंकर पक्राउ परेको विषयमा आफूलाई धेरै जानकारी नभएको बताउँदै पहिला आफूले प्रहरीबाट पूर्ण जानकारी लिने र त्यसपछि थप छलफल गर्ने आश्वासन दिए ।

‘गृहमन्त्रीज्यूले बैंकरहरु पक्राउ परेको बारेमा आफूलाई धेरै थाहा नभएको र के कसो भएको हो पूर्ण जानकारी लिएर फेरि छलफल गरौं भन्नु भएको छ,’ गृहमन्त्रीसँगको भेटवारे जानकारी दिँदै एक बैंकरले भने ।

गृहमन्त्रीसँगको भेटपछि उनीहरु सीआईबीमा पुगेका थिए । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बैंकर्स संघका प्रतिनिधिहरु आफूमातहतका कर्मचारी पक्राउ परेको विषयमा बुझ्न आएको बताए ।

‘आफ्ना कर्मचारीहरु पक्राउ परेपछि के भएको हो भनि बुझ्नु अभिभावकत्व लिनु हो’ बोगटीले भने, ‘उहाँहरुले घटनाबारे जानकारी लिनु भयो ।’

आफूहरुले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र यसमा सहयोग गर्न आग्रह गरेको बोगटीले बताए ।

अदालतबाट ७ दिनका लागि म्याद थप भएको र उहाँहरुमाथि अनुसन्धान भइरहेको र त्यसमा सहयोग गर्न
सीआईबी आग्रह गरेको एक बैंकरले बताए ।

सीआईबीसँगको छलफलपछि बैंकर्स संघका प्रतिनिधि नियामक निकाय नेपाल राष्ट्र बैंक पुगेका थिए । गभर्नर महाप्रसाद अधिकारीसहितका केन्द्रीय बैंकका प्रतिनिधिहरुसँगको छलफलमा उनीहरुले घटनाबारे जानकारी गराएका थिए । भेटमा गभर्नर अधिकारीले अहिले प्रहरीले अनुसन्धान गरिरहेकोले त्यसमा सहयोग गर्नुको विकल्प नभएको बताएका थिए ।

‘गभर्नरज्यूले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसमा सहयोग गर्नुको विकल्प नभएको बताउनु भयो’ राष्ट्र बैंकको भेटमा सहभागी एक बैंकरले भने, ‘राष्ट्र बैंकको टोलीले आफूहरुलाई जानकारी नदिइ प्रहरीले पक्राउ गरेको बताउनु भयो ।’
यद्दपी सीआईबीले भने राष्ट्र बैंकको जवाफी पत्र पाएपछि उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

सीआईबीले देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंका विभिन्न कम्पनीमा धितोले खाम्नेभन्दा ९७ करोड रुपैयाँ बढी ऋण दिएको पाइएपछि १० जनालाई पक्राउ गरेको जनाएको छ । चौलागाईं पुर्पक्षका लाथि थुनामै रहेको र उनको बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरुलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

‘१ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ’ उनले भने ‘धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी कर्जा प्रवाह भएकोले अनुसन्धानका लागि पक्राउ गरिएको हो ।’

525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका