आर्थिक विशेष
कर्जाका लागि बैंकमा बढ्न थाल्यो सोधपुछ, ग्राहकले ऋण लगानी गर्न चाहेका क्षेत्र कुन-कुन?

ब्याजदर निरन्तर घटिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको सोधपुछ बढ्न थालेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लगानी प्रोत्साहन गर्न खोजेसँगै बैंक तथा वित्तीय संस्थामा कर्जाका लागि सोधपुछ उच्च दरले बढेको हो।
कर्जाका लागि सोधपुछ एकाएक बढ्न थालेको बैंकरहरु बताउँछन्। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङले ब्याजदर धेरै तल आइसकेकाले चालु आर्थिक वर्षको सुरुदेखि नै कर्जाका लागि सोधपुछ बढिरहेको बताए।
‘कर्जाको ब्याजदर ८ प्रतिशतभन्दा तल आएको छ। बैंकहरुमा अधिक तरलता पनि छ,’ उनले भने, ‘अहिले कर्जा लिएर लगानी गर्न उपयुक्त समय छ। सस्तो दरमा कर्जा लिएर लगानी गर्दा लागत कम हुनुका साथै उत्पादन क्षमता धेरै हुन्छ। त्यही बुझेर होला अहिले कर्जाका लागि सोधीखोजी गर्ने क्रम ह्वात्तै बढेको छ।’
कर्जाको औसत ब्याजदर अहिले ८ प्रतिशत भन्दा तल छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो)लाई हेर्दा बैंकिङ प्रणालीमा साढे ९ खर्ब रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ।
सीइओ खालिङका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि मार्जिन प्रकृतिको सेयर धितो कर्जा र घरजग्गा कर्जाका लागि सोधपुछ बढेको छ।
पछिल्लो दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिंदै जाँदा लागत कम गर्न निक्षेपको ब्याजदर निरन्तर घटाउँदा कर्जा सस्तिंदै आएको छ।
तैपनि कर्जा लगानी सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरुले झण्डै ७ खर्ब रुपैयाँ लगानीयोग्य रकम राष्ट्र बैंकमा राखेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले साढे २ खर्ब स्थायी तरलता सुविधा (एसडीएफ) र ४ खर्ब ४१ अर्ब ९० करोड निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा ‘पार्क’ गरिरहेका हुन्।
बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका सीइओ सुरेन्द्र रेग्मी पनि कर्जाका लागि सोधपुछ उच्च भएको बताउँछन्।
‘ब्याजदर कम छ। यस्तो बेलामा कर्जाको सोधपुछ राम्रो हुन्छ। अहिले सेयर कर्जा, अटो, घरजग्गा लगायत क्षेत्रमा कर्जा लिनका लागि सोधपुछ उच्च देखिन्छ,’ रेग्मीले भने।
उनका अनुसार घर बनाउनभन्दा जग्गा खरिदका लागि कर्जा लिन चाहनेहरु धेरै देखिएका छन्।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लगानी प्रोत्साहन गर्न खोजेको छ। राष्ट्र बैंकले कर्जा लगानीलाई प्रोत्साहन गर्न नीतिगत दरहरु घटाएको छ। साथै, घरजग्गा कारोबार उकास्ने खालको नीति राष्ट्र बैंकले लिएको छ।
निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट ३ करोड रुपैयाँ पुर्याइएको छ। त्यसैगरी, पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशत र अन्यको हकमा ७० प्रतिशत पुर्याइएको छ।
चालु आर्थिको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको १५ करोडको सीमालाई २५ करोड पुर्याएको छ। राष्ट्र बैंकले जोखिम भार गत जेठमै १०० प्रतिशतमा झारिसकेको थियो।
एकपछि अर्को खुकुलो नीति र घट्दो ब्याजदरका कारण अब कर्जा बढ्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।
‘गत वर्षको जेठसम्म मुद्रास्फ्रीति दर २.७२ प्रतिशत हुँदा निक्षेपको औसत ब्याजदर ४.२९ प्रतिशत छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘ब्याजदर भन्दा मुद्रास्फ्रीति दर तल आएकाले कर्जा लगानीलाई प्रोत्साहन गर्ने नीति लिएका हौं। ऋणीले सस्तोमा पाएको पैसाले धेरैभन्दा धेरै उत्पादन गरोस् र आर्थिक गतिविधि चलायमान होस भन्ने राष्ट्र बैंकको चाहना हुन्छ। कर्जा सेयर, उपभोग, उत्पादन, निर्माण लगायत जुन क्षेत्रमा जाँदा पनि त्यसले आर्थिक गतिविधि बढाउन टेवा पुर्याउँछ।’
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































