जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकरको काम जोखिमसँग डराउने होइन, व्यवस्थापन गर्ने हो, राष्ट्र बैंकले स्वार्थी कुरा सुन्दैन

बैंकरको काम जोखिमसँग डराउने होइन, व्यवस्थापन गर्ने हो, राष्ट्र बैंकले स्वार्थी कुरा सुन्दैन

मलाई आज दिउँसो मात्रै एकजना साथीले सोध्नुभयो- हाम्रो वित्तीय क्षेत्रमा कतै समस्यामा त छैन ? मलाई उहाँले अन्यथा पो बुझ्नुभयो कि जस्तो लाग्यो । तथ्यांकमा आधारित भएर उहाँजतिको सिनियर मान्छेलाई बुझाउनै पर्ने अवस्था आयो । हाम्रो बैंकिङ प्रणालीको सोल्भेन्सीको अवस्था राम्रो छ । १३ प्रतिशतभन्दा माथिको पुँजी पर्याप्तता छ । जुन यो क्षेत्रमा राम्रो हो ।

सम्पत्तिको गुणस्तरका सम्बन्धमा पनि हामी अन्य देशको तुलनामा राम्रो अवस्थामा छौं । खाली हाम्रै अघिल्ला अघिल्ला वर्षहरुको तथ्यांकसँग तुलना गर्दा बढेको मात्रै हो । बैंकहरुको खुद खराब कर्जा हेर्ने हो भने त्यो निकै कम छ । हामीले सम्भावित जोखिम व्यवस्थाका लागि मोटो रकम छुट्याइसकेका छौं ।

हाम्रो वित्तीय प्रणालीमा निश्चय पनि केही चुनौतिहरु थपिएका छन् । तर, नेपालको वित्तीय क्षेत्र विश्वक धेरै देशको भन्दा सबल, सक्षम र सुरक्षित छ ।

अर्कोकुरा हाम्रो वित्तीय प्रणालीलाई लगानीयोग्य पुँजी (तरलता)ले अफ्ठ्यारो पार्यो भन्ने गरिन्छ । तर, पछिल्लो समय तरलता धेरै नै सहज हुँदै गएको छ । गत बिहीबारको तथ्यांक हेर्ने हो भने राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाको सापटी (एसएलएफ र ओभरनाइट सुविधा) शून्यप्राय छ । उहाँहरुले डेढ महिनादेखि राष्ट्र बैंकसँग सापटी लिनु भएको छैन । दैनिक तरलता व्यवस्थापनका लागि लिने सुविधा पनि शून्यप्राय छ ।

गत भदौको २३-२४ र २५ गतेको तथ्यांक हेर्ने हो भने यस्तो सुविधाको रकम २ खर्ब ९९ अर्ब रुपैयाँ थियो । चाहिएको भएन त बैंकहरुले लिन सक्थे नि आजका दिनमा पनि । तरलतासँग सम्बन्धित राष्ट्र बैंकका विभिन्न प्रुडेन्सियल मेकानिजमहरु छन् । सीआरआर, एसएलआर, नेट लिक्विडिटी रेसियो, सीडी रेसियोलगायत राख्नुपर्ने नियामकिय प्रावधानहरुले हाम्रो वित्तीय प्रणालीलाई बाँधेर राखेको छ ।

वित्तीय प्रणाली अर्थतन्त्रको मेरुदण्ड हो । वित्तीय क्षेत्र सबल नभएसम्म अर्थतन्त्र अघिबढ्न सक्दैन । र, अर्थतन्त्र राम्रो नहुँदा वित्तीय प्रणाली पनि राम्रो हुँदैन । त्यसकारण पनि अर्थतन्त्र र वित्तीय प्रणाली एकअर्काका परिपूरक हुन् । हामी सँगसँगै अघि बढ्ने हो ।

अहिले बजारमा कयौं कुराहरु आउँछन् । आफ्ना अफ्ठ्याराहरु छरेर प्रणालीलाई गल्ती देखाएर केही अर्थ छैन । आफ्नो जोखिमको व्यवस्थापन आफैंले गर्नुपर्छ । तर, के त भन्दा प्रणालीले, नीतिले तपाईंलाई साथ दिने हो, सहयोग पुर्याउने हो । हामीले कोरोना महामारीका क्रममा विभिन्न सुविधाहरु दिएकै हो । कोरोनाकालमा किन ती सुविधाहरु दिनुपथ्र्यो ? किन हामीले बैंकलाई ३ महिनाको ब्याज घटाइदिनोस् भन्यौं ? किन हामीले कर्जाको पुनर्संरचना र पुनर्तालिकिकरण गर्न भन्यौं ? किन हामीले थप चालु पुँजी कर्जा दियौं ? बिजनेश नबाँचिकन बैंक पनि बाँच्न सक्दैन भनेर यी सुविधाहरु दिनु परेको हो ।

अर्थतन्त्र नबाँची बैंक पनि बाँच्न सक्दैन । सँगसँगै बैंक नबाँचीकन व्यवसायीहरुले सही सेवा पनि पाउन सक्दैनन् । त्यसकारण दुबै बाँच्नुपर्छ । त्यो सिद्दान्त अहिले पनि काम लाग्छ । के अहिलेको अवस्था पनि त्यस्तै हो त ?

नेपाल राष्ट्र बैंकले लिने नीतिहरुका बारेमा बजारमा थुप्रैखाले बहशहरु हुन्छन् । म यहाँ के कुरा प्रष्ट पार्न चाहन्छु भने राष्ट्र बैंकले लिने नीतिहरु धेरै गहन छलफलका आधारमा लिने नीतिहरु हुन् । हामी कयौं सरोकारवालाहरुसँग छलफल गरिरहेका हुन्छौं । धेरै जनाले प्रश्न गर्नुहुन्छ, तपाईंहरु छलफल गर्नुहुन्छ । हाम्रा प्रतिक्रियाहरु चाहिँ खासै सुन्नुहुन्न । निर्णय आफैं गर्नुहुन्छ । यस्ता प्रतिक्रियाहरु पनि बाहिर आएका छन् । यसका पछाडि केही कारणहरु छन् । केही सिद्दान्तहरु छन् । आफ्नो स्वार्थका कुराहरुको सम्बोधन भएन भन्दैमा हाम्रा कुरा सुनिएन भन्दिनु भएन । आम सर्वसाधारणको हितमा सैद्दान्तिक र व्यवहारिक हिसाबले काम भइरहेको छ कि छैन भनेर हेर्नुपर्छ । यो कुरा महत्वपूर्ण हुन्छ ।

हामी बारम्बार देखिरहेका छौं राष्ट्र बैंकप्रतिको अपेक्षा अत्यन्तै बढेर गएको छ । र, यो अपेक्षालाई म कसरी लिन्छु भने- कुनै एउटा तलाउमा पानीमाथि तैरिरहेका कमिलाहरुले कुनै साहारा पाएनन् । त्यहाँ एउटा पात भेट्टाए भने ती कमिलाहरु त्यही पातमाथि चढ्दै जान्छन् । अहिले राष्ट्र बैंकलाई धेरैले त्यस्तै पात देख्नु भएको छ । हामी खुसी छौं, यहाँहरुलाई त्यो पातमा राखेर तलाउको किनारामा लैजान सकौं । तर, यहाँहरुले सँगसँगै सोच्नुपर्छ कि त्यो पातमा धेरैभन्दा धेरै कमिला बसियो भने तलाउको किनारासम्म पुग्न सकिँदैन । त्यहीँ डुबिन्छ । त्यसकारण राष्ट्र बैंकले पनि कति बर्डन सहने ? मौद्रिक नीतिका आफ्ना सीमा छन् ।

सीमासम्म अर्थात् त्यो पातको क्षमतासम्म पायौं भने तलाउको किनारासम्म पुग्न सकिन्छ, होइन भने संभव छैन । त्यसकारण मौद्रिक नीतिसँग जे जति स्पेश छ त्यो स्पेशभित्र बसेर हामीले काम गर्छौं । हामी मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्ने शिलशिलामा छौं । यही महिनाभित्र समीक्षा गर्नेछौं । नेपाल सरकारलाई नयाँ बजेटका लागि सुझाब पनि दिएका छौं । सँगसँगै हामी साउनको पहिलो साता आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तयारी गर्ने काम सुरु गरिरहेका छौं । हामी जेन्यून सुझाबहरु सुन्छौं । तर, जो आफ्नो व्यावसायिक स्वार्थ वा आफ्नो खल्तीका लागि मात्रै सुझाव दिइरहेका छन्, तीनलाई चाहिँ हामी सुन्दैनौं र गन्दैनौं ।

अहिले बैंकिङ प्रणालीमा केही चुनौति र दबाबहरु थपिएका छन् । बैंक यस्तो संस्था हो जो चुनौतिहरुका सामना गर्दै अघिबढ्न जन्मिएको संस्था हो । त्यही जोखिमको व्यवस्थापन गरेर नै बैंकले नाफा कमाउने हो । कस्टोडिन हो, सर्वसाधारणको निक्षेप हो । यहाँहरु अधिकांश सञ्चालक समितिमा हुनुहुन्छ, अध्यक्षहरु पनि हुनुहुन्छ, सीइओ र उच्चपदस्थ कर्मचारीहरु पनि हुनुहुन्छ । अत्यत्नै व्यावसायिक र पारदर्शी हिसाबले काम गरिरहनु भएको छ । फलस्वरुप हामीले हाम्रो वित्तीय प्रणालीलाई सबल राख्न सकेका छौं। रेगुलेटेड पनि हुनुहुन्छ । हाम्रा रेगुलेशनहरु पनि त्यतिकै प्रुडेन्ट छन् ।

हाम्रो वित्तीय प्रणालीमा चुनौतिहरु भए पनि अन्यदेशमा देखिएको जस्तो खतरा भने छैन । हामी धेरै नै सुरक्षित छौं । आम निक्षेपकर्ताले बैंकमा पैसा जम्मा गरेर त्यसको सुररक्षा गर्ने जिम्मा हामीलाई दिनुभएको छ, त्यसलाई सुरक्षित राख्ने काम हाम्रो प्रणालीले गरिरहेको छ । कहीँ कतै कुनै संस्थाले सकेन भने राष्ट्र बैंकले त्यस्तो संस्थालाई हस्तक्षेप गरेर भए पनि निक्षेपकर्ताको पैसा डुब्न दिँदनौं । प्रणालीमा भइरहेका गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका छौं ।

हामीसँग दैनिक रिपोर्टिंङको मेकानिजम छ । र, हामीलाई प्रष्ट थाहा छ कि हाम्रा कुन संस्थाहरु कस्तो अवस्थामा छन् भन्ने कुरा । वित्तीय प्रणालीमा चुनौति र जोखिमहरु थपिँदै गएका छन् । हिँजो हामी क्रेडिट रिक्स, अप्रेसन रिक्स, मार्केट रिक्स लगायत भन्थ्यौं जलवायुसँग सम्बन्धित जोखिमहरु पनि थपिएका छन् । जलवायु परिवर्तसँग जोडिएका जोखिमलाई हामीले ध्यानपूर्वक न्यूनिकरण गर्न लागेनौं भने भावी दिनमा यसले अर्थतन्त्र र समाजलाई निकै ठूलो जोखिममा लैजाने निश्चित छ । यसमा भने हामी सचेत हुन जरुरी छ । नयाँ नयाँ जोखिमहरुको विश्लेषण गर्ने र म्यानेज गर्ने काम बैंकरको हो । जहाँ चुनौति छ, जहाँ जोखिम छ, त्यहाँ डराउने होइन । त्यसलाई व्यवस्थापन गर्ने हो ।

(बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले आयोजना गरेको नेपाल बिजनेस समिट २०२३ मा गभर्नर अधिकारीले दिएको मन्तव्यको सम्पादित अंश)

1080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका