जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सहकारी डुबाएर वाणिज्य बैंकको अध्यक्ष, बचतकर्ताले भने ऋणमा डुबिसक्दा पनि पाएनन् फिर्ता

सहकारी डुबाएर वाणिज्य बैंकको अध्यक्ष, बचतकर्ताले भने ऋणमा डुबिसक्दा पनि पाएनन् फिर्ता

अनिँदो आँखामा गहभरि आँसु । हतासमा थिए उनी । उकेराको अफिस खोज्दै आइपुगे गतिशील सहकारीका एक बचतकर्ता। खास समस्या के हो भनेर सोध्दै गर्दा उनले भने, ‘मेरो परिचय नखुलाइदिन’, यो अडियो तपाईंलाई सुनाइदिन्छु।

उनले मोबाइल निकाले अनि सुनाए फोनमा भएको वार्ता।

बचतकर्ताः खेम सर, एक महिनाअघि पैसा व्यवस्थापन गर्छु भन्नुभएको थियो, अहिलेसम्म भएन नि ।

खेमराज नेपालः  सरले भनेको कुरा सोचविचार गरेका छौँ। नगद नभएकाले तपाईंलाई जग्गा दिने कुरा गरिरहेका छौँ। कि ललितपुरको लुभुको कि भक्तपुरको सिपाडोलमा रहेको जग्गा दिने हो। लुभुको ४४ आना छ अन्तको १८ रोपनी छ।

बचतकर्ताः मैले तपाईंहरूलाई भनेको ६ महिना बढी भइसक्यो अहिलेसम्म दिन नसक्ने भन्ने त हुँदैन होला नि हैनरु

खेमराज नेपालः हैन हामी मिलाउँदैछौँ। आज र भोलि हामी यो केस मिलाउँछौँ, त्यसपछि भेट्ने।

डेढ हप्ता अघि लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारीका ‘लोन कमिटी कोअर्डिनेटर’ खेमराज नेपाल र एकजना बचतकर्ताबीच भएको संवाद हो यो। २/३ दिनमा भेट्ने आश्वासन दिएका नेपालले पछि फोन रिसिभ गरेनन्।

त्यसपछि ती बचतकर्ताले सहकारीका कार्यवाहक अध्यक्ष विकास थापालाई फोन गरे। विकासले भने, ‘काम सिद्धिसकेपछि  पैसा आउनेबितिक्कै म दिन्छु। हामीले जग्गाको पैसा दिन लागेका छौँ। जसलाई धेरै अप्ठ्यारो परेको छ, उसैलाई सुरुमा दिने हो। म गर्छु।’

कार्यवाहक अध्यक्षले पैसा भएपछि आफैं फोन गर्छु भनेर फोन काटे, तर बचत भएको पैसा फिर्ता नआउँदा ऋणमा चुर्लुम्म डुबेका छन् गुनासोकर्ता।

एक निजी बैंकमा काम गर्ने उनले  २० वर्षदेखि  गतिशील सहकारीमा रकम जम्मा गर्न थालेका थिए। उनकी श्रीमती र उनको गरेर १ करोड २० लाख रुपैयाँ उक्त सहकारीमा बचत भएको छ।

आफूले कमाएको रकम बचत त छ, तर उनी भने ऋणमा छन्। पाटनका स्थायी बासिन्दा उनको घर भूकम्पले चर्कियो। अर्को बनाउनुपर्ने भए पनि सहकारीले पैसा फिर्तै दिन मानिरहेको छैन।

११ लाख रुपैयाँ १५ प्रतिशत ब्याजका दरले ऋण लिएका थिए उनले। यति मात्रै होइन, केही महिनाअघि आमा बिरामी भएर उपचारका लागि भारत जानुपर्ने भयो। परेको बेला निकाल्छु भनेर जम्मा गरेको रकम निकाल्न उनी फेरि पुगे गतिशील सहकारी ।

त्यतिबेला सहकारीले आफूलाई मात्र ५ हजार रुपैयाँ दिएर फिर्ता पठाएको उनी बताउँछन्। पैसा माग्न गएको बेला ५ हजारभन्दा धेरै रकम नदिने, कहिले जग्गा दिन्छु भनेर सहकारीले झुलाइरहेको उनको आरोप छ।

‘हामीले बचत सञ्चालकहरूले आफ्नो नाउँमा जग्गामा लगानी गरे,’ उनले भने, ‘हामीलाई डुबाएर उनीहरू धनी बने।’

कसरी टाट पल्टियो सहकारी ?

सहकारीका तत्कालीन कोषाध्यक्ष तीर्थप्रसाद पोखरेका अनुसार गत कार्तिकसम्म गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डा. बलराम पाठक थिए।

केही समयअघि मात्रै  गतिशील सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्न पुगेका पाठकले विकास थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनेका पाठकले बचतकर्ताहरू रकम लिन सहकारी धाउँदा बेवास्ता गरिरहेका बचतकर्ताको आरोप छ।

पूर्वअध्यक्ष पाठकले बचतकर्ताको रकम दुरुपयोग गरी आफ्नो नाममा घरजग्गामा लगानी गरेका बचतकर्ताहरूको आरोप छ।

केही समयअघि जग्गामा कित्ताकट रोकिएपछि उनले गरेको लगानी डुबेको हुन सक्ने बचतकर्ताहरूको आशंका छ।यसअघि बीमा संस्थानको सञ्चालकसमेत भइसकेका पाठक पाटन क्याम्पसका पार्ट टाइम लेक्चररसमेत हुन्।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनी माओवादी केन्द्रको कोटामा राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनेका थिए।

यस विषयमा बुझ्न खोज्दा सहकारीका अध्यक्ष विकास थापाले फोन रिसिभ गरेनन्।

तत्कालीन कोषाध्यक्ष रहेका तीर्थप्रसाद पोखरेलले अहिले आफू सहकारीको कुनै पदमा नरहेकाले यस विषयमा केही नबोल्ने प्रतिक्रिया दिए। ‘म अहिले त्यहाँको कुनै पदमा पनि छैन यस विषयमा विकास थापा सरसँगै बुझ्नुहोला,’ उनले उकेरासँग भने।

गत असारसम्मको तथ्यांकअनुसार उक्त सहकारीमा कुल ९ करोड २८ लाख ४४ हजार रुपैयाँ सेयर पुँजी र कुल पुँजी १८ करोड ४४ लाख ९३ हजार रुपैयाँ रहेको बचतकर्ताहरू बताउँछन्।

सहकारीको अधिकांश लगानी व्यापारमा

सहकारीले अधिकांश लगानी व्यापारमा गरेको भेटिएको छ । सहकारीले घरजग्गामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ।

यस्तै गाडीमा ६८ लाख ५८ हजार, मुद्दति रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको सहकारीकै प्रतिवेदनमा लेखिएको छ।

संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ ।

संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ।

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका