जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्राधिकरणको यो निर्देशन, जसले गर्दा रोकियो ५ बीमा कम्पनीको झण्डै १० अर्बको बोनस सेयर

प्राधिकरणको यो निर्देशन, जसले गर्दा रोकियो ५ बीमा कम्पनीको झण्डै १० अर्बको बोनस सेयर

सङ्घीय संसद्को लेखा समितिको निर्देशनलाई पालना गर्दै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई आइपिओ निष्कासन गर्दा प्रिमियम मूल्य बापत उठेको पैसा जगेडा कोषमा राख्न निर्देशन दिएको छ ।

पछिल्लो पटक रिलायवल नेपाल लाइफ, हिमालयन रि इन्स्योरेन्स, आईएमई लाइफ, सन नेपाल लाइफ र सिटीजन्स लाइफ गरेर ५ बीमा कम्पनीले प्रिमियममा आइपिओ जारी गरेका थिए । हालै प्राधिकरणले उनीहरूलाई छुट्टा–छुट्टै पत्र पठाएर सेयरको प्रिमियम मूल्य बापत उठाएको पैसा रिजर्भमा राख्न भनेको हो ।

योसँगै अब उक्त कम्पनीहरूले तत्काल त्यो पैसा बोनस सेयरको रूपमा बाँड्न नपाउने भएका छन् । यसअघि प्राधिकरणले उक्त पैसा बोनस सेयरको रूपमा बाँडेर कम्पनीलाई चुक्ता पुँजी बढाउन भनेको थियो ।

कम्पनी ऐनअनुसार सेयरको प्रिमियम मूल्य बापत उठेको पैसा बोनस सेयरको रूपमा बाँड्न पाइन्छ । तर, प्रिमियममा आइपिओ निष्कासन गर्दा अनियमितता भएको भन्दै लेखा समितिमा प्रश्न उठेपछि र समितिले त्यस्तो पैसा फिर्ता दिन निर्देशन दिएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो । हाल यस विषयमा अध्ययन भइरहेकाले उक्त पैसा रिजर्भमै राख्न भनिएको प्राधिकरणको स्रोतको भनाइ छ । अर्को निर्देशन नआएसम्म कम्पनीहरूले त्यो पैसा प्रयोग गर्न नपाउने प्राधिकरणका उच्च स्रोतले बतायो ।

संसद्को सार्वजनिक लेखा समितिले गत साता बीमा कम्पनीहरूले प्रिमियम मूल्यमा आइपिओ जारी गर्न नपाउने भन्दै बीमा प्राधिकरणलाई त्यस विषयमा विस्तृत विवरण पठाउन निर्देशन दिएको थियो । बीमा कम्पनीहरूलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृत दिनु बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हित विपरीत देखिएको भन्दै तत्काल सच्याउन समितिले पनि प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसपश्चात् प्राधिकरणले पनि सम्बन्धित बीमा कम्पनीहरूलाई प्रिमियममा उठेको रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । हाल प्राधिकरणले यस विषयमा लेखा समितिमा विस्तृत विवरण पठाएको हो, यो विवाद किनारा नलागेसम्म यस विषयमा थप निर्णय नहुने स्रोतको भनाइ छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीले भर्खरै मात्र प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेको थियो । कम्पनीले प्रति सेयर अङ्कित १ सय रुपैयाँमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २ सय ६ रुपैयाँका दरले सेयर बिक्री गरेको हो । ३ करोड कित्ता शेयर जारी गरेको यो कम्पनीसँग शेयर प्रिमियम बापतको ३ अर्ब १८ करोड रुपैयाँ पैसा छ ।

यस्तै, आइएमई लाइफले पनि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १३६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँमा आइपिओ निष्कासन गरिसकेको छ । १ करोड २० लाख कित्ता शेयर जारी गरेको यो कम्पनीसँग १ अर्ब ६४ करोड २९ लाख रुपैयाँ प्रिमियम मार्फत उठेको पैसा छ ।

त्यसैगरि सिटिजले लाइफले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँ प्रतिकित्तामा आइपिओ निष्कासन गरेको छ । सिटिजनसँग १ करोड १२ लाख कित्ता शेयर निष्कासन गरेको यो कम्पनीसँग १ अर्ब ६१ करोड २८ लाख रुपैयाँ यस्तो रकम छ ।

यता रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १५७ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २५७ रुपैयाँ र सन नेपाल लाइफले पनि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १३९ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २३९ रुपैयाँमा आइपिओ निष्कासन गरेको थियो । १ करोड २० लाख कित्ता शेयर जारी गरेको रिलायवल नेपालसँग १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ र ९६ लाख कित्ता शेयर जारी गरेको सन नेपालसँग १ अर्ब ४८ करोड रुपैयाँ यस्तो पैसा छ । यसको कुल रकम ९ अर्ब ७९ करोड ९७ लाख रकम रहेको देखिन्छ ।

640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका