जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रतिबन्धले रुसी बैंकहरु थप प्रभावित

प्रतिबन्धले रुसी बैंकहरु थप प्रभावित

पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूका कारण रुसी अर्थतन्त्रका साथै बैंक वित्तहरु समेत प्रभावित हुन थालेको छ ।
अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ४० प्रतिशतले गिरावट आएको छ । रुसका प्रमुख सहरहरूमा बैंक तथा वित्तीय संस्थाका एटीएम बाहिर मानिसहरूका ठूला लाइन देखिएका छन् ।

रुसी सरकारले सीमा तोक्न सक्ने आशंकापछि मानिसहरू नगद निकाल्नका लागि एटीएम बुथमा जम्मा भएका हुन् । युरोपेली संघ (ईयू) को प्रतिबन्धपछि रुसी स्वामित्वका बैंकहरूले युरोपमा काम गर्न बन्द गरिसकेको जनाइएको छ ।

रुसको केन्द्रीय बैंकमाथि प्रतिबन्ध लगाइएका कारण उसले करिब ६ सय ३० अर्ब डलर विदेशी मुद्रा सञ्चिति प्रयोग गर्न पाउँदैन । ऊर्जा क्षेत्रबाट रुसले युरोपेली संघका सदस्य राष्ट्रहरूबाट राम्रो आम्दानी गर्छ । तर युक्रेनमाथि रुसी अतिक्रमणपछि ईयूले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएको छ ।

ईयू नेताहरूले रुसी केन्द्रीय बैंक र आफ्नो हवाई क्षेत्रमा रुसी विमानको उडानमाथि प्रतिबन्ध लगाएका छन् । त्यसका साथै हातहतियार किन्ने र युक्रेनलाई पठाउने निर्णयसमेत गरेका बीबीसीले जनाएको छ ।

अर्थतन्त्रमा असर पर्न सक्ने देखिएपछि रुसको केन्द्रीय बैंकले सबै विदेशी कानुनी संस्था तथा व्यक्तिलाई सेयर तथा रुसमा गरिएको लगानी बिक्री गर्न रोक लगाएको छ ।

बैंकले विनिमय तथा मुद्रा बजारबाहेक मस्को सेयर बजार खोल्ने वा नखोल्नेबारे अझै निर्णय गरिसकेको छैन । बेलायतस्थित बहुराष्ट्रिय कम्पनी बीपीले ठूलो रुसी तेल कम्पनी रोज्नेफ्टमा रहेको आफ्नो करिब २० प्रतिशत सेयर अन्यत्र लैजान लागेको जनाएको छ । तर रुसको केन्द्रीय बैंकले सेयर बिक्रीका लागि रोक लगाएका कारण तत्काल यो सम्भव नहुने देखिएको छ ।

दक्षिण कोरियाद्वारा पनि रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध

दक्षिण कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बनसहित रूसविरुद्ध थप प्रतिबन्धहरू लगाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार रुसविरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध लगाउने जस्ता थप निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रालयले ‘हामी सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेर रुसविरुद्ध थप प्रतिबन्धहरू सम्बन्धी विवरणहरू घोषणा गर्नेछौं’ भन्ने उल्लेख गरेको छ । मन्त्रालयले उक्त निर्णय अमेरिकालगायत सम्बन्धित देशलाई पनि जानकारी गराउने योजना बनाएको छ । यता बेलायतले पनि पाँच रुसी बैंकलाई प्रतिबन्ध लगाइसकेको छ ।

भिजा र मास्टरकार्डको सेवा बन्द

रुसमा बैंकसँग सम्बन्धित भिजा र मास्टरकार्ड कम्पनीले आइतबारदेखि सेवा बन्द गरेका छन् । विश्वव्यापी विद्युतीय भुक्तानी सञ्जाल भएका भिजा र मास्टरकार्ड कम्पनीले रुसमा सेवा बन्द गरेका रोयटर्सले जनाएको छ ।

रुसमा दर्ता भएका भिजा र मास्टरकार्ड आजदेखि रुस र रुसबाहिर पनि चल्ने छैनन् । युक्रेनमाथिको आक्रमण रोक्नका लागि दबाब दिन सेवा बन्द गरेको कम्पनीले जनाएको छ । भिजा इन्क र मास्टरकार्ड इन्क अमेरिकी कम्पनी हुन् । भिजा र मास्टरकार्डको निर्णयलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गरेका रोयटर्सले जनाएको छ ।

रुसका ७ बैंकलाई स्विफ्ट बैंकिङ प्रणालीबाट हटाइयो

स्विफ्ट बैंकिङ सिस्टमले आफ्नो विश्वव्यापी नेटवर्कबाट ७ रुसी बैंकलाई हटाउने भएको छ। यही मार्च १२ सम्म ती बैंकहरुलाई हटाउने काम सम्पन्न हुने स्विफ्टले जनाएको छ ।

स्विफ्टद्वारा जारी गरेको विज्ञप्तिमा युक्रेनमा रुसले गरेको आक्रमणबाट पीडितहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ। यसअघि अमेरिका, युरोपेली संघ, बेलायत र यसका धेरै सहयोगीहरुले प्रमुख अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली ‘स्विफ्ट’ बाट धेरै रुसी बैंकहरुलाई हटाउने निर्णय गरेका थिए ।

रुसी केन्द्रीय बैंकले ह्वात्तै बढायो ब्याजदर !

रुसले पश्चिमा देशको प्रतिबन्धको असर रोक्न ब्याजदर ह्वात्तै बढाउने भएको छ । रुसी केन्द्रीय बैंक द बैंक अफ रसियाले ९.५ प्रतिशत रहेको ब्याजदर एकैचोटि २० प्रतिशत पुर्याएको हो ।

बीबीसीका अनुसार विशेषगरी अमेरिका र सबैजसो युरोपेली राष्ट्रले आक्रमणको विरोध गर्दै रुसविरुद्ध असामान्य प्रतिबन्ध लगाएपछि भइरहेको रुसी मुद्रा रुबलको अवमूल्यन रोक्न र यसबाट भइरहेको महंगी नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय भएको बताइएको छ ।

मस्कोले कम्पनीहरुलाई समेत ८० प्रतिशत विदेशी मुद्रा बिक्री गर्न आदेश दिएको केन्द्रीय बैंक र अर्थ मन्त्रालयले जनाएको छ । केन्द्रीय बैंकले भनेको छ, ‘रुसी अर्थतन्त्रको बाह्य अवस्थामा व्यापक परिवर्तन आएको छ ।’

यसैबीच रुसी केन्द्रीय बैंकले ब्रोकरहरुलाई विदेशीले गर्ने सेयर कारोबारमा पनि निलम्बन गर्न आदेश दिएको छ । विदेशीले रुसी लगानीको हिस्सा बेच्न खोजेसँगै यस्तो आदेश दिइएको हो ।

रुसी मुद्राको मुल्यमा ३० प्रतिशतले गिरावट

युक्रेन आक्रमणलाई लिएर रुसमाथि पश्चिमेली देशहरुले नयाँ प्रतिबन्ध लगाइरहेका बेला अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ । 

देशका बैंक टाट पल्टने त्रास बढिरहेका बेला  रसियाको केन्द्रीय बैंकले शान्त हुन अनुरोध गरेको छ । बढ्दो तनावले ब्रेन्ट क्रुड तेलको मुल्य प्रति व्यारेल १०० डलरमाथि पुगेको छ । युरोपेली युनियन, अमेरिका र उसको गठबन्धनले रुसी बैंकलाई मुख्य अन्तर्राष्ट्रिय भुक्तानी गेटवे स्विफ्टबाट रोक्का गरेको छ । 

उनीहरुले रुसको केन्द्रीय बैंकमा रहेको सम्पत्ति रोक्का गर्दै देशको विदेशी भण्डारमा पहुँच गर्न सक्ने क्षमतालाई सीमित गरेका छन् । ‘अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई थप अलग्याउने’ आफूहरुको उदेश्य रहेको अमेरिकी गठबन्धनको संयुक्त विज्ञप्तिमा भनिएको छ । आफ्नो तेल तथा ग्यास निर्यातका लागि रुस स्विफ्ट प्रणालीमा निर्भर छ  । पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। 

रुस र बेलारुसमा आफ्ना सबै परियोजना रोक्ने विश्व बैंकको घोषणा

विश्व बैंकले रुस र बेलारुसमा आफ्ना सबै परियोजनाहरु तत्काल लागू हुने गरी रोक्ने घोषणा गरेको छ।  युक्रेनमा सैन्य कारबाही र जनताप्रतिको रुसले गरेको शत्रूताको व्यवहारलाई मध्यनजर गर्दै विश्व बैंकले यो कदम चालेको हो।

युक्रेनमा रुसको आक्रमण र बेलारुसले गरेको समर्थन र समर्थनलाई लिएर ठूलो संख्यामा देश, संस्था र कम्पनीहरुले आफ्नो सम्बन्ध तोड्दै प्रतिबन्धहरु लगाएका छन्।

‘विश्व बैंक समूहले सन् २०१४ देखि रुसमा नयाँ लगानी वा ऋण स्वीकृत गरेको छैन’, विश्व बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

विश्व बैंकले सन् २०२० को मध्यदेखि बेलारुसलाई पनि कुनै नयाँ ऋण दिएको छैन। विश्व बैंकले रुस र बेलारुसमा आफ्ना सबै परियोजना कार्यक्रम तत्काल लागू हुने गरी स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘हामी युक्रेनको लामो समयदेखि साझेदार छौँ र संकटको यो घडीमा त्यहाँका जनताको साथमा छौँ’, विज्ञप्तिमा भनिएको छ।  विश्व बैंकले  युक्रेनलाई सहयोग गर्न ३ अर्ब डलरको सहायता प्याकेज दिने घोषणासमेत गरेको थियो। 

3515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका