जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भित्री कारोबार गर्नेको तीव्र गतिमा अनुसन्धान भइरहेको छ कोही जोगिँदैनन्ः हमाल

भित्री कारोबार गर्नेको तीव्र गतिमा अनुसन्धान भइरहेको छ कोही जोगिँदैनन्ः हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्ने व्यक्ति तथा कम्पनीका बारेमा तीव्र रुपमा अध्ययन भइरहेको बताएका छन् ।

भित्री कारोबार गर्ने केही व्यक्तिलाई मुद्दा दायर गरेको, केहीको अध्ययन सकेको र केहीको तीव्र गतिमा अध्ययन भइरहेको उनले बताएका हुन् । अध्यक्ष हमालले नेपाली धितोपत्र बजारको ३० वर्षे इतिहासमा पहिलो पटक भित्री कारोबार गर्नेलाई मुद्दा दर्ता भएको बताए । भित्री कारोबार गर्ने अरु कसैलाई पनि नछोडने प्रतिबद्धता उनले जनाए ।

‘धितोपत्र बजारको ३० वर्षको इतिहासमा भित्री कारोबार गरेको पाइएपछि तहकिकात अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सकेर, सरकारी वकिलको राय लिएर मुद्दा दर्ता भइसकेको छ । ३ करोड २३ लाख रुपैयाँ बिगो र १ बर्ष जेल सजायको माग गरेर मुद्दा दर्ता भएको छ,’ उनले भने, ‘अरु पनि यस्ता केही कारोबारका विषयमा अनुसन्धान भइरहेको छ । तिनीहरुको अनुसन्धान द्रुत गतिमा अघि बढिरहेको छ । केही दिनमा राम्रो समाचार आउन सक्छ । अब यो बजारमा कसैले भित्री कारोबार गर्न खोज्छ भने धेरै सोच्नुपर्छ ।’

भित्री कारोबार र सर्कुलर ट्रेडिङको सूचना पाएको खण्डमा दिएर सहयोग गर्नसमेत उनले आग्रह गरे । त्यस्ता सूचना पाएको खण्डमा कसैलाई पनि नछोड्ने अध्यक्ष हमालले बताए ।

रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै बोर्डले चैत ८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

न्यौपानेले पदमा बहाल रहेको अवस्थामा २०७७ चैत १९ देखि २०७८ साउन २४ सम्म खरिद-बिक्री गरेको विषयमा तहकिकात गर्दा भित्री कारोबार भएको पुष्टि गर्दै बोर्डले ३ करोड २३ लाख रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेगरी मुद्दा दायर गरेको छ ।

यस्तै नेपाल हाइड्रो डेभलपर कम्पनी तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले इन्साइडर ट्रेडिङ गरेको विषयको अध्ययन प्रतिवेदन सरकारी वकिलको कार्यालय पुगेको छ ।

प्रधान कम्पनीको अध्यक्ष भएको समयमा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढी रकममा बिक्री गरेर कम्पनीबाट बाहिरिएका थिए ।

नेपाल हाइड्रो डेभलपर कम्पनीको सञ्चालक समिति अध्यक्ष र सञ्चालकबाट प्रधानले २०७८ भदौ १३ गते राजीनामा दिएका थिए । तर, प्रधानले २०७८ साउन दोस्रो साता आफूसँग भएको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर बिक्री गरेका थिए ।

उनले छोरा चेतनको नाममा रहेको करिब २ करोड रुपैयाँको ३५ हजार कित्ताभन्दा बढी सेयर साउन १७ देखि १० दिनको अवधिमा बिक्री गरेका थिए । छोराको सेयर बिक्री गरेपछि २०७८ साउन अन्तिम साताबाट श्रीमती विमला प्रधान श्रेष्ठको नाममा रहेको करिब २ करोडको ३० हजारभन्दा बढी कित्ता सेयर पनि २ दिनको अवधिमा बिक्री गरेका थिए ।

त्यसलगत्तै प्रधानले छोरी निभिका प्रधानको नाममा रहेको सेयर २०७८ साउन दोस्रो साताबाट साउन तेस्रो साताको अवधिमा बिक्री गरेका छन् । प्रधानले छोरी निभिताको नाममा रहेको ३० हजारभन्दा बढी कित्ता सेयर २ करोड बढी रकममा बिक्री गरेका हुन् ।

यस्तै राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले धितोपत्र बोर्डको कानुनविपरीत २ अर्ब रुपैयाँभन्दा बढीको सेयर बिक्री गरेका छन् । करिब ५ महिनाको अवधिमा ५५ कारोबार दिनमा २ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर उनले बिक्री गरेका छन् ।

राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष रुंगटाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ को दफा ३८ को १ (क) मा भएको व्यवस्थाविपरीत सेयर बिक्री गरेका हुन् । कानुनविपरीत उनले करिब ५ महिनाको अवधिमा ५५ कारोबार दिनमा २१ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर २ अर्ब १७ करोड ४७ लाख बढी रकममा बिक्री गरेका छन् ।

रुंगटाले उक्त कम्पनीको सेयर बिक्रीको यात्रा २०७८ वैशाख २९ गतेबाट सुरु गरेर २०७८ असोज १३ गतेसम्म कायम राखेका थिए । उनले उक्त कम्पनीको सेयर ६८० देखि १२५६ रुपैयाँको अन्तरमा बिक्री गरेको तथ्यांकले देखाएको छ ।

उनले वैशाख २९ गते पहिलो दिन १३ हजार ५७३ कित्ता सेयर सेयर ९२ लाख ८३ हजार रुपैयाँ बढी रकमका बिक्री गरेको पाएपछि धितोपत्र बोर्डले पनि तीव्र गतिमा अध्ययन सुरु गरेको अध्यक्ष हमालले बताए ।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?