जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सर्वेन्द्रको कार्यकाल 10 दिन, ठाकुर ज्ञवाली पक्का

सर्वेन्द्रको कार्यकाल 10 दिन, ठाकुर ज्ञवाली पक्का

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल अब 10 दिन बाँकी छ । ३० वर्षे सेवा अवधिका कारण उनी र उनको समूह आगामी २८ गते मंगलवारका दिनदेखि स्वतः अवकाशमा पर्नेछन् । त्यसपछि प्रहरी संगठनले नयाँ संगठन प्रमुखका रूपमा ठाकुर ज्ञवालीलाई पाउने निश्चित नै देखिएको छ ।

विवादमा नपरेका, भ्रष्टाचारमा बदनामी नकमाएका र वर्तमान नेकपाको सरकारमा रहेका मन्त्री एवम् सो पार्टीका शीर्ष नेताहरूसँग नजिकको सम्बन्ध भएका कारणले पनि ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा पक्का नै देखिन्छन् । ठाकुर ज्ञवालीको पुख्र्यौली घर प्यूठान हो । उनका बाबु शिक्षक भएका कारणले पनि उनका शिष्यहरू अहिले नेकपाको शक्तिकेन्द्रमा छन् । वामदेव गौतम, कृष्णबहादुर महरा, मोहन वैद्य ठाकुरका पिताका चेलाका रूपमा चिनिन्छन् ।

त्यसैगरी नेकपाका महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, वनमन्त्री शक्ति बस्नेत एवं नेताहरू जनार्दन शर्मादेखि पम्फा भुसालसम्म ठाकुर ज्ञवालीको नजिकको सम्बन्ध र उठबस रहेको छ । केही दिनअघिमात्रै पनि ज्ञवाली काठमाडौँ आई प्रधानमन्त्री केपी ओलीदेखि अन्य नेकपाका शीर्ष नेताहरूलाई भेट गरिसकेका छन् । हाल प्रदेश नम्बर १ को कमाण्ड सम्हालिरहेका डिआइजी ज्ञवालीले प्रहरीको नेतृत्व सम्हाल्ने निश्चित देखेपछि वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भने सकेसम्म ज्ञवालीलाई हुन नदिन लागिपरेका छन् ।

आइजीले आइजी बनाउन सक्ने हैसियत पनि राख्दैनन् भने आइजिपी खनाललाई प्रधानमन्त्री केपी ओलीले राम्रो रुचाउँदैनन् । जसका कारण प्रधानमन्त्रीसँग खनालको यो कार्यकाल कहिले सुखद पनि रहेन । त्यसैगरी उनलाई आइजिपी बनाउन सफल भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग पनि खनालको पछिल्लो समय सम्बन्ध चिसिएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिजालका कारणले मात्रै उनी विवादित हुँदाहुँदै पनि आइजिपी बनिरहन सफल भएका हुन् ।

तर पनि आइजिपी खनाल ठाकुर ज्ञवालीलाई आइजी हुनबाट रोक्न सक्रिय रहेको कुरा प्रहरी वृत्तमा चलिरहेको छ । खनाल हाल प्रवक्तासमेत रहेका उनका विश्वासिला सैलेश थापालाई आइजी बनाउन चाहन्छन् । सधैँ प्रहरी महानिरीक्षकको सचिवालय, डेक्समा बस्ने र भाषण लेखेका भरमा सबै प्रहरी महानिरीक्षकहरूको नजिक मानिँदै आएका सैलेश थापा फिल्डमा कमजोर मानिन्छन् । जुन कुरा उनी पोष्टिङ भएका ठाउँको घटनाक्रमले पनि देखाउँछ । आइजिपी खनाल ठाकुर ज्ञवालीलाई रोकी थापालाई आइजी बनाउन लागेको कुरा बाहिर आइसकेको छ तर उनको केही लाग्ने वाला भने देखिँदैन । ज्ञवाली आइजी भएपछि भने प्रहरीको एआइजीको बढुवा तत्कालै हुने सम्भावना न्यून देखिन्छ । न्यून देखिनुको पछाडि बढुवाका लागि हुने अस्वस्थ प्रतिस्पर्धा प्रमुख नै हो ।

उपेन्द्रकान्त अर्याल महानिरीक्षक भएका वखत पनि झण्डै ८ महिना एआइजीको बढुवा रोकिएको थियो । त्यसपछिमात्रै एआइजीको बढुवा निस्कियो । अहिलेका आइजिपी सर्वेन्द्र खनालले प्रहरीको नेतृत्व सम्हालेपछि पनि झण्डै ९ महिना एआइजीको बढुवा हुन सकेन, त्यसपछि मात्रै निस्कियो । अब पनि त्यही अवस्था देखिएको छ । ज्ञवालीपछि दोस्रो नम्बरमा रहेका तारणी लम्साल र उनीसँगैका सूर्यप्रसाद उपाध्याय ६ नम्बरमा रहेका छन् । ज्ञवाली, लम्साल र उपाध्याय हालका आइजिपी खनालका वैकल्पिकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । बढुवा हुँदा सूर्य उपाध्याय पछि परेका हुन् । अहिलेको हिसाबमा उनी ११ नम्बरमा छन् ।

हालका आइजिपी र उनको समूह अवकाश भएपछि उनी ६ नम्बरमा आउँछन् भने कान्छो डिआइजीका रूपमा विश्व पोखरेल रहेका छन् । प्रहरीमा ३ वटामात्र एआइजीका पद भएका कारणले पनि बढुवामा अस्वस्थ प्रतिस्पर्धा र विवाद हुने देखिएपछि एआइजीको बढुवा तत्कालै नहुने देखिन्छ । ठाकुर ज्ञवालीले अहिलेकै नियमावली रहेमा ४ महिना २४ दिनमात्रै प्रहरीको नेतृत्व सम्हाल्नेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसँगै तारणी लम्साल र सूर्य उपाध्याय पनि अवकाश हुनेछन् ।

त्यसपछि मात्रै प्रहरीले नयाँ आइजिपीसँगै एआइजीहरू पाउने देखिन्छ । ठाकुरपछि आइजिपी को हुन्छ भन्ने अवस्था अहिले तत्कालै नदेखिए पनि प्रधानमन्त्री केपी ओलीको इच्छाशक्तिका कारण हरिबहादुर पाल नेतृत्वमा आउने सम्भावना प्रबल देखिन्छ । स्वर्गीय आङछिरिङ शेर्पासँगको नजिकको सम्बन्धका कारण उनका दाजु सोनाम र छिरिङकी श्रीमतीसँगको नजिकको सम्बन्धका कारण पनि उनीहरूले प्रधानमन्त्री ओलीलाई पाललाई आइजिपी बनाउन चर्को दबाब दिने कुरामा विवाद छैन ।

यति ग्रुपसँग प्रधानमन्त्री ओलीको अत्यन्तै नजिकको सम्बन्ध छ भन्ने कुरा गोकर्ण रिसोर्टको म्याद थपदेखि दरवारमार्गको नेपाल ट्रष्टको जग्गा भाडा प्रकरणलगायतका अन्य घटना प्रकरणहरूले पनि उजागर गरिसकेको छ । त्यस अवस्थामा पालको सम्भावना अति प्रबल देखिन्छ । फिल्डमा र कमाण्ड कन्ट्रोलमा प्रहरीभित्र राम्रो अधिकृतका रूपमा चिनिने पाल यदि प्रहरी संगठनको नेतृत्वमा पुगे भने उनको आसेपासेहरू धेरै बदनाम पात्रहरू रहेका कारणले अहिलेकै आइजिपी सर्वेन्द्र खनालजस्तै उनी पनि विवादमा पर्ने कुरामा भने कुनै शंका छैन ।

त्यसो त हाल २ नम्बरको कमाण्ड सम्हालेका प्रद्युम्न कार्की पनि प्रहरी संगठनमा स्वच्छ र कमाण्ड भएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । सैलेश थापा र निरज शाही प्रहरी संगठनका ‘एभ्रेज’ अधिकृतका रूपमा चिनिन्छन् । सर्वेन्द्र खनाल र उनको समूह अवकाश भएसँगै प्रहरीमा १८ वटा त डिआइजीका पदमात्र रिक्त हुन्छन् । असक्त अवस्थामा रहेका राजेन्द्रमान श्रेष्ठको विशेषपद भने उनको अवकाशसँगै स्वतः खारेजीमा पर्नेछ ।

11380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका