जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • चालु पुँजी कर्जा संशोधनपछि उत्पादनमूलक कम्पनीका सेयर उचालिँदा ५ अर्ब नाघ्यो कारोबार

चालु पुँजी कर्जा संशोधनपछि उत्पादनमूलक कम्पनीका सेयर उचालिँदा ५ अर्ब नाघ्यो कारोबार

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरे लगत्तै उत्पादनमूलक कम्पनीका सेयर मूल्य उचालिएका छन्। संशोधन लगत्तै खुलेको सेयर बजारले फराकिलो फड्को मार्दा यस्ता क्षेत्रका सेयर बढी सक्रिय छन्।

नेप्से बिहीबार १८ अंकले बढेर २१४३ को विन्दुमा कायम छ। ब्रोकरहरुका अनुसार क्षेत्रगत परिवर्तन हाबी हुँदा उतारचढाव बढी छ। यसले कारोबारको परिमाण पनि उच्च हुन पुगेको हो।

तीव्र उतारचढावका कारण कारोबार रकम ५ अर्ब रुपैयाँ नाघेको हो। यसमा प्यानिक सेलिङ र र्यापिड रिकभरी दुवै रकम संलग्न छ। बजार घट्दा पनि उत्पादन क्षेत्रका सेयर किन्नेहरुको संख्या अत्याधिक हुँदा आपूर्तिको अनुपातमा माग बढी छ।

चालु पुँजी कर्जाको केही व्यवस्था परिमार्जन हुने चर्चाले नै केही दिन अघिबाटै सेयर बजार तात्न सुरु गरेको थियो। बजार तरंगित हुँदा मुख्य आकर्षणमा अर्थतन्त्रमा योगदान दिने कम्पनीका सेयर बढेका हुन्।

‘निजी क्षेत्र पूर्ण रुपमा सन्तुष्ट नभएपनि संशोधन सेयर बजार सकारात्मक मनोवैज्ञानिक प्रभाव परेको छ,’ एक ब्रोकर सञ्चालकले भने,’ संशोधनको हल्लाले उत्तेजित बजार, करेक्सनको सहायतामा दिगो वृद्धि चाहन्छ। लगानीकर्ताको विवेक पनि बजारको भावनासँग मिल्दो छ।’ आश्वासन नसियतले बलियो बन्दै गएको बजारको सेन्टिमेन्ट मार्गदर्शन संशोधन भएपछि झनै बढेको उनी तर्क गर्छन्।

राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू भएको चालु पुँजी कर्जा मार्गदर्शनलाई बुधबार संशोधन गरेको हो। जस लगत्तै खुलेको कारोबारमा लगानीकर्ताले भोलाटायल सेक्टर छाडेर होटल, लगानी र उत्पादन जस्ता क्षेत्रमा लगानी केन्द्रित गर्न थालेको देखिन्छ।

चालु पुँजी कर्जा तत्काल तिर्नु पर्ने दबाब र भविष्यमा चाहेजति पुँजी नपाउने हुँदा उत्पादनमा केन्द्रित कम्पनीको सेयरमा प्रभाव पर्न सुरु गरेको थियो। आक्रामक भुक्तानीले गर्दा नाफामा चर्को असर पर्ने प्रक्षेपण थियो। र, आगामी दिनमा व्यवसाय सञ्चालनमा पनि गम्भिर असर पर्ने निश्चित थियो।

यसले गर्दा विशेषगरी चालु पुँजी कर्जामा निर्भर कम्पनीका सेयर अवमूल्यन हुन थालेका थिए। बढ्दो बजारमा लगानीकर्ताको रुचि उतारचढाव भएका सेयरमा नै बढि देखिएको थियो। जुन प्रवृत्ति संशोधनको चर्चा लगत्तै पूर्णरुपमा बदलिएको थियो।

ब्रोकरहरु मात्रै नभएर मर्चेन्ट बैकरहरु पनि बाजारको बाइङ सेन्टिमेन्ट बलियो नै रहेको स्वीकार्छन्। अर्थमन्त्री र प्रधानमन्त्रीले आश्वासनलाई कार्यान्वयनमा लैजाने प्रमाण दिँदा लगानीकर्ताको उत्साह बलियो भएको उनीहरुको बुझाई हो। ‘लगानीकर्ता इन्ट्रा डे करेक्सन मै प्रवेश गर्न थालेका छन्। विशेषगरी भ्यालु सृजना गर्न सकिने स्टकमा खरिद चाप छ,’ ती मर्चेन्ट बैकरले भने।

समायोजनको क्रममा रहेको ब्याजदरले पनि यी कम्पनीको प्रति लगानीकर्ताको रुचि बलियो हो। चालु पुँजी कर्जाको माग अत्याधिक हुने जलविद्युत क्षेत्रमा पनि आकर्षण देखिन्छ। प्रमुख सूचक घटेपनि चुनिएका यस्ता स्टकको माग चर्को रह्यो।

निजी क्षेत्रका जानकारहरु नयाँ सरकार गठन हुँदा यस्ता क्षेत्रमा बढी चासो हुने बताउँछन्। ‘नयाँ सरकार आइसकेपछि डेभलपमेन्ट एजेन्टहरुसँगको टाइअप बढी हुन्छ,’ उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बिजमाण्डूसँग भनेका थिए, ‘ठूला प्रोजेक्टहरुको भुक्त्तानी भएलगत्तै तरलतामा सुधार हुने सम्भावना पनि अत्यधिक छ।’

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका