जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल बैंकको सीईओ बन्न संघर्ष गर्दैछन् पाँच उम्मेदवार

नेपाल बैंकको सीईओ बन्न संघर्ष गर्दैछन् पाँच उम्मेदवार

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम छनोट गरिएको छ । बैंकको सीईओका लागि अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम छनोट गरिएको हो ।

योग्यता र अनुभवी व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरी सिफारिस गरिएको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा पुस ४ गते बुधबार ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि बोलाएको हो ।

अब पाँचै जनाले दिने प्रस्तुति तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना सीईओ बन्नेछ ।

सर्टलिष्टिङमा परेका ५ जनामध्ये सबैभन्दा बलियो उम्मेदवार को होला र कसले बैंकको सीईओ पदमा बाजी मार्ला भन्ने विषय चासोका साथ हेरिएको छ ।

अशोक पौडेल

अशोक पौडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । नेपाली बैंकिङ क्षेत्रमा लामो समय अनुभव भएका उनी पछिल्लो समय विभिन्न संस्थाको नेतृत्व गर्न हतारिएका छन् ।

उनले यसअघि कृषि विकास बैंकको सीईओ र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बन्न आवेदन दिएका थिए । उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सीईओमा समेत आवेदन दिएका छन् । उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सीईओ छनोट समितिले सिफारिस गरेको दोस्रो स्थानमा छन् ।

ध्रुब गौतम

कृषि विकास बैंकको उपमहाप्रबन्धक पदबाट अवकाश प्राप्त गौतमसँग पनि नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । बहुआयामिक कार्य तथा वित्तीय क्षेत्रमा सरकारको नीतिलाई कार्यान्वयन र वाणिज्य बैंकको समेत काम गर्ने गरी दोहोरो भूमिका निर्वाह गरिरहेको कृषि विकास बैंकमा उनले २२ वर्ष काम गरे ।

रिकभरी र समस्याग्रस्त कर्जाहरूमा विभागीय प्रमुख भएर झण्डै एक दशक काम गरेका गौतमसँग एसएमईमा समेत लामो समय काम गरेको अनुभव छ । कृषि विकास बैंकमा हुँदा क्षेत्रीय निर्देशक भएर काम गर्ने अवसर पाएको बताउँदै उनले भने, ‘जोखिम व्यवस्थापनमा ६÷७ वर्ष काम गरे, मेरो विज्ञता रिकभरी नै हो किनकी यसमा नै लामो समय बिताए, कर्पाेरेट बैंकिङमा चिफ अफिसर समेत भएर काम गरे ।’

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका गौतम सीईओ भएपछि नेपाल बैंकको प्रविधिलाई समयानुकल परिवर्तन गर्ने योजना बनाएको बताउँछन् । साथै, नयाँ र पुरानो पुस्ताको ग्यापलाई पूर्णता दिने, जनशक्ति व्यवस्थापन परम्परागत ढंगबाट चलेको हुँदा त्यसलाई नयाँ शैलीमा लैजाने उनको योजना छ ।

‘बैंकको परम्परागत प्रणालीलाई आधुनिकीकरण बनाउने, नयाँ पुस्ताको कर्मचारीलाई अभिमुखीकरण गराउने, कर्मचारी खर्च घटाउने, नीतिगत ग्यापलाई सुधार गर्ने, जोखिम व्यवस्थापनमा सुधार गर्ने, प्रविधिमा जोड दिने, अहिले भएको प्रविधिलाई परिवर्तन गर्ने, नयाँ मार्केटको खोजी गर्ने, बैंकको ब्राण्डलाई बलियो बनाउने योजना छ,’ उनले विकासन्युजसँग आफ्नो योजनाहरू सुनाउँदै भने, ‘रिकभरीमा दक्ष जनशक्ति भित्र्याउने, ग्राहकलाई छिटो र गुणस्तरीय सेवा दिने, अटोमेसन र डिजिटाइजेसनमा परिवर्तन गर्ने, एचआर पोलीसी परिवर्तन गर्ने, काम गर्ने वातावरण सहज बनाउने, मार्केट सेयरलाई सुधार गर्ने हो ।’

सरकारी लगानीको बैंक भएकाले सरकारका विभिन्न निकायसँग सहकार्य गरेर अघि बढ्ने उनको योजना छ । साथै, आवश्यकता अनुसार संस्थाको रिस्ट्रक्चरिङ गर्ने उनले बताए । इन्टर्नल कन्ट्रोलिङ सिस्टमलाई बलियो बनाउने योजना रहेको उनले बताए ।

तिलराज पाण्डे

बैंकिङ क्षेत्रमा तीन दशक बढी अनुभव हासिल गरेका पाण्डे नेपाल बैंककै प्रडक्ट हुन् । २९ वर्ष नेपाल बैंकमा जागिर गरेपछि चिफ म्यानेजरबाट अवकास लिएका थिए । नेपाल बैंकबाट बाहिरिएपछि उनले एक वर्ष एशियाली विकास बैंकमा कन्सलटेन्ट भएर काम गरे ।

तत्कालीन भिवोर विकास बैंक समस्याग्रस्त हुँदा उनी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर बैंक प्रवेश गरे । भिवोर विकास बैंकको अवस्था सुध्रिएपछि लुम्बिनी विकास बैंकसँग मर्ज भयो । र, उनी बाहिरिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशलन बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरे ।

उनले हाल नेपाल बैंकको खराब कर्जा बढी, रिकभरीको समस्या र लगानीको सुस्सता भएकोले यो समस्या समाधानका लागि आफूले काम गर्ने बताए । उनले ग्राहकहरुको मनोबल उठ्न नसकेका समस्या पहिचान गरी समाधान गर्ने पनि बताएका छन् ।

चितवन घर भएका पाण्डेलाई व्यवसायिक स्वार्थका लागि केही व्यवसायिक घरानाले बैंकको सीईओ बनाउनका लागि लबिङ गरिरहेको पनि बुझिएको छ ।

समता पन्त

हाल नेपाल बैंकको कामु सीईओ भएर काम गरिरहेकी पन्त सीईओ बन्ने सम्भावित पात्र हुन् । उनले नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशकभन्दा बढी काम गरिसकेकी छन् ।

एउटा कुशल बैंकरका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी उनका श्रीमान राष्ट्र बैंकको कार्यकारी अधिकृत छन् । उनले पनि नेपाल बैंकको सीईओ बन्नका लागि पूर्णरूपमा संघर्ष गरिरहेकी छन् ।

लक्ष्मण पौडेल

पौडेल अहिले नेपाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एबीए गरेका छन् ।

नेपाल बैंकमा दुई दशक काम गरिसकेका उनले बैंकमा विभिन्न विभागकाे प्रमुख भएर काम गरिसकेका छन् । उनले आफूले हालसम्म गरेका काम र त्यसको अनुभवबाट सिकेका विषयहरू कार्यान्वयन गर्दै अगाडि बढ्ने सुनाए ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका