जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • वित्तीय साक्षरतामा सिटिजन्स बैंकको फरक शैली, गाउँलेलाई बैंकिङ सिकाउँदै

वित्तीय साक्षरतामा सिटिजन्स बैंकको फरक शैली, गाउँलेलाई बैंकिङ सिकाउँदै

सामान्यतया वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, कर्जा, कर योजना, बीमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरू बुझी उचित निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ ।

अर्थात् वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्वपूर्ण वित्तीय अवधारणा र सीपलाई बुझाउँदछ ।

नेपाल जस्तो विकासोन्मुख देशका लागि वित्तीय साक्षरता अति आवश्यक छ । वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भिर आर्थिक दुर्घटना हुन गई ठूलो वित्तीय क्षति समेत व्यहोर्नुपर्ने र समाजमा नकारात्मक असर समेत पर्ने अवस्था छ ।

हुन त वित्तीय साक्षरता बढाउनमा सबैभन्दा बैंकिङ क्षेत्रको ठूलो योगदान छ । अझ भन्ने हो भने बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता झनै आवश्यक रहेकाले बैंक तथा वित्तीय संस्थाहरुले यस सम्बन्धि तालिम तथा कार्यक्रमहरु समय- समयमा गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न पालिकाहरुसँग समन्वय गरी वित्तीय साक्षरता बढाउन भुमिका खेल्दै आइरहेको छ ।

मुलुकमा वित्तीय साक्षरता दर केहि वर्षअघिको तुलनामा बढ्दै गइरहेको छ । वित्तीय साक्षरता हासिल गरेकै कारण गाउँका मानिसहरु थोरै–थोरै रकम भएपनि बचत गर्न बैंकमा नै धाउने गर्दछन् ।
यसैबीच, सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पालिकाहरुसँग समन्वय गरी वित्तीय साक्षरताबारे जागरुकता ल्याउने कार्य गरिरहेको छ ।

उक्त कम्पनीले सात ओटै प्रदेशका भौगोलिकस्थानका ग्रामीण भेगसहित करिब १५० वटा एटीएममार्फत् बैंकिङ सेवा दिंदै आएको छ । कम्पनीले लुम्बिनी प्रदेशअन्तर्गत पनि विभिन्न जिल्लाका पालिकाहरुसँग सहकार्य गरी वित्तीय साक्षरता कार्यक्रमहरु गर्दै आइरहेको बताएको छ ।

उक्त प्रदेशअन्तर्गत मात्रै ३० वटा एटीएम, ५१ वटा शाखा कार्यालयबाट सेवा दिदै आइरहेको बैंकको लुम्बिनी प्रदेश प्रमुख मनिष पाण्डेले बताए ।

उनका अनुसार लुम्बिनी प्रदेशका कुल १२ जिल्लामा रहेका ५१ वटा शाखामध्ये ३० वटा शाखा कार्यालयमा एटीएम सेवा सञ्चालनमा छन् ।
कम्पनीले उक्त प्रदेशका विभिन्न जिल्लामा रहेका गाउँपालिकाहरुसँग सहकार्य गरी शाखा समेत विस्तार गरेको छ ।

‘बैंकिङ पहुँच पुर्‍याउनका लागि कम्पनीले दाङको बंगलाचुली गाउँपालिका, प्यूठानको झिमरुक गाउँपालिका र रुकुम पूर्वको भूमे गाउँपालिकासँग सहकार्य गरी ती स्थानमा शाखा विस्तार गरेको छ’ उनले भने, ‘शहरी क्षेत्रदेखि स्थानीय तहसम्म शाखा कार्यालय विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सुद्दोधन गाउँपालिकामा समेत शाखा स्थापना भइसकेको छ ।’
लुम्बिनी प्रदेशमा सामाजिक उत्तरदायित्व
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा कम्पनीका शाखा कार्यालयहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् ।

‘बैंकको हरेक शाखाहरुबाट जनमानसमा बैंकिङ सेवाप्रतिको चेतना जागरुकता ल्याउने उद्धेष्यले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन भइरहेको छ’, उनले भने, ‘केन्द्रीय बैंकको निर्देशनमा स्थानीय निकायहरुसँग समन्वय गरी लत्ताकपडा वितरण, खानेपानीको लागि सहयोग जस्ता कार्यक्रमहरु पनि गरेका छौं ।’
यसका साथै कम्पनीले प्रदेशभित्र समय समयमा हुने मेला,महोत्सव तथा प्रदर्शनीमा पनि सहयोग गर्दै आएको उनले बताए । ‘मेला तथा महोत्सवमा विभिन्न खालका व्यक्तिहरु आउने भएकाले बैंकको प्रचार पनि हुने र वित्तीय शिक्षा प्रवर्द्धन हुने भएकाले बैंकले साथ समर्थन पनि गर्दै आइरहेको छ’, उनले भने ।
साथै कम्पनीले हालैमात्र रुपन्देहीको चौराहामा बृक्षरोपणका लागि विरुवा तथा सडक बत्ति तथा होडिङ बोर्ड लगायतमा पनि सहयोग गरेको छ । उनले भने, ‘आगामी आउने दिनमा पनि पालिकाहरुसँग सहकार्य गरी यस्तो कार्यलाई निरन्तरता दिने योजना बनाएका छौं ।’
‘ग्रामीण क्षेत्रलाई प्राथमिकता राखेर वित्तीय साक्षरता’
बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय साक्षरता अन्तरगत विशेष गरी ग्रामीण क्षेत्रभन्दा पनि बढी मात्रामा शहरी क्षेत्रलाई नै प्राथमिकता दिएको देखिन्छ । तर सिटिजन्स बैंकले भने शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रका स्थानीयहरुको आर्थिक जीवनस्तर उकास्ने उद्धेष्यले वित्तीय साक्षरतामा मुख्य योगदान दिएको पाण्डेले दाबी गरेका छन् ।

‘सिटिजन्स बैंकले केन्द्रीय बैंकको निर्देशन पालना गर्दै विभिन्न पालिकाहरुसँग सहकार्य गरी पालिकाभित्रका कृषकहरुमाझ वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको छ’ उनले भने, ‘केही समयअघि मात्र बैंकले पश्चिम नवलपरासीस्थित रामग्राममा किसानहरुसँग वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।’
‘लुम्बिनी प्रदेशका नागरिक डिजिटल बैंकिङमा’
त्यसो त लुम्बिनी प्रदेशका नागरिकहरु विस्तारै डिजिटल बैंकिङ प्रणालीतर्फ उन्मुख हुँदै गएका छन् । विशेषगरी रुपन्देही, दाङ, कपिलवस्तु तथा नवलपरासी जस्ता जिल्लाका नागरिकहरु डिजिटल बैंकिङमा आकर्षित छन् । ‘अझ भन्ने हो भने यस क्षेत्रका व्यापारीहरुले पनि विशेषगरी डिजिटल माध्यमबाटै नै बैंकिङ कारोबार गर्दै आइरहेका छन्’ उनले भने, ‘कतिपय किसानहरुले त मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोग गर्न थालेका छन्, जुन हाम्रा लागि ठूलो उपलब्धि पनि हो ।’
‘ग्राहकको प्रतिक्रिया सकारात्मक’
कम्पनीले लुम्बिनी प्रदेशअन्तर्गत १२ वटा जिल्लामा बैंकिङ सेवा सुविधा प्रदान गरिरहेको छ । हालसम्म कुनै पनि ग्राहकबाट नकारात्मक खालको प्रतिक्रिया नआएको उनको दाबी छ ।

‘अहिलेसम्म ग्राहकहरुले आवेगमा आएर हाम्रो सेवा सुविधा र बैंकिङ प्रणालीको बारेमा नकारात्मक प्रतिक्रिया दिएको अवस्था छैन, बरु बैंकले गर्न सक्ने कुराको सुझावहरु दिएका छन्’ उनले भने, ‘हामीले बैंकबाट दिनुपर्ने सेवा सुविधामा कुनै पनि सम्झौता वा शर्त राखेका छैनौं, बैंकको समग्र सुविधा( हस्पिटालिटी) प्रति ग्राहकहरुले सकारात्मक प्रतिक्रिया छ, यसले अझ सेवा सुविधा दिन हौसला मिलेको छ ।’
लुम्बिनी प्रदेशमा आगामी योजना
कम्पनीले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये गुल्मी, रोल्पा र अर्घाखाँचीमा शाखा कार्यालय विस्तार गरेको छैन । आगामी दिनमा कम्पनीले ती जिल्लामा समेत शाखा कार्यालय विस्तार गरी बैंकिङ सेवा उपलब्ध गराउने योजना बनाएको छ।

बरु शाखा कार्यालयसँगसँगै एटीएम सेवा थप्ने र वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजाने योजना बनाएको उनको भनाइ छ । ‘लुम्बिनी प्रदेशभित्रका सबै जिल्लामा बैंकको शाखा कार्यालय विस्तार गर्ने बैंकको योजनाका साथ काम भइरहेको छ’ उनले भने ।

हालसम्म कम्पनीले लुम्बिनी प्रदेशअन्तर्गत ५१ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत् बैंकिङ सुविधा दिंदै आएको छ । कम्पनीले लुम्बिनी प्रदेशमा मात्र नभएर मुलुकमा विभिन्न भागमा आवश्यकताअनुसार एक्सटेन्सन काउन्टर समेत बढाउने योजना रहेको बताएको छ ।

740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका