जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मिडियामा विज्ञापन देखिएन तर एनआइसी एशियाले खर्च गर्यो रु. २५ करोड

मिडियामा विज्ञापन देखिएन तर एनआइसी एशियाले खर्च गर्यो रु. २५ करोड

एनआइसी बै‌ंक लिमिटेडले विज्ञापनमा वर्ष दिनमै २५ करोड रुपैयाँभन्दा बढी रकम खर्चिएको छ। नेपाल राष्ट्र बै‌ंकले तयार पारेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमध्ये विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा एनआइसी एशिया बैंकको खर्च सबैभन्दा अधिक छ।

राष्ट्र बै‌ंकका अनुसार एनआइसी एशियले गत आर्थिक वर्ष २०७९।८० मा २५ करोड ११ लाख ५८ हजार ३५० रुपैयाँ खर्चिएको छ । यो रकम वाणिज्य बै‌ंकहरुले खर्चिएको कूल रकमको १९ प्रतिशत हो। गत आर्थिक वर्षमा एनआइसी एशियाले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विज्ञापन शिर्षकमा खर्चिएको रकम यसको खुद नाफाको ५‍.३७ प्रतिशत हुन आउँछ।

एनआइसी एशिया बै‌ंकले विज्ञापन तथा प्रचार प्रसार शीर्षकमा यति ठूलो रकम खर्चिए पनि गत आर्थिक वर्षमा आम सञ्चारमाध्यमहरुमा एनआइसी एशियाको विज्ञापन नदारदको अवस्था रह्यो । सर्वसाधारणलाई सूचित गर्नका लागि आम सञ्चारमाध्यमको भूमिकालाई उपेक्षा गर्न नसकिने भएपनि आम सञ्चारमाध्यममा विज्ञापन प्रकाशन प्रशारण नै नगरी एनआइसी एशियाले यति ठूलो रकम सिद्ध्याएको छ। आमसञ्चार माध्यममा उपस्थिति नै नदेखिई यति ठूलो रकम खर्चिनुले अपारदर्शिताको आश‌ंकालाई बल पुगेको छ।

बैंक तथा वित्तीय स‌ंस्थाले वास्तविक कारोबारै नगरी आउटडोर मिडियाका लागि वस्तु तथा सेवा खरिद गरेको फर्जी बिलका आधारमा खर्च लेख्दै यस्तो रकम अनुचित कार्यमा प्रयोग गरेको विषय समय समयमा चर्चामा आउने गरेको छ। एनआइसी एशियाले विज्ञापन शीर्षकमा खर्चिएको रकम र आम सञ्चार माध्यममा एनआइसी एशियाको विज्ञापन मूलक सामाग्रीको उपस्थितिले खर्च शंकास्पद देखिएको छ।

चालू आर्थिक वर्षको शुरुवात देखि नै काठमाडौं महानगरपालिकाले पनि महानगरको क्षेत्रभित्र सार्वजनिक स्थानमा जथाभावी विज्ञापन गर्न रोक लगाएको अवस्था छ। साथै महानगरले बै‌ंकका लागि साइन बोर्डको आकार समेत निर्धारण गरि दिएको छ। यसले गर्दा एनआइसी एशियाको शाखा, काउण्टर र एटिएममा राखिएका विज्ञापनहरूको आकार र विज्ञापन वापत महानगरलाई दिनुपर्ने खर्च दुबै कटौती भएको अनुमान गर्न सकिन्छ । एनआइसी एशियाको बै‌ंक सञ्जाल अन्तर्गत महानगर क्षेत्रभित्र सबैभन्दा बढी शाखा, काउण्टर र एटिएम बुथ सञ्चालनमा रहेका छन् ।

बजार भाउभन्दा महँगो मूल्यमा विज्ञापन सामाग्री खरिद गर्ने, महँगो मूल्यमा कार्यक्रम प्रशारण र प्रायोजन गरेर घुमाउरो बाटोबाट बजेट दुरुपयोग गर्ने माध्यमका रुपमा विज्ञापनवापतको खर्चलाई प्रयोग हुने गरेको छ।

एनआइसी एशिया बैंकले एउटै बचत योजनालाई समेत विभिन्न नाममा ब्राण्डिङ गरेर सर्वसाधारणलाई झुक्याउने कार्य गर्दै आएको छ। शुरुमा ६ प्रतिशत ब्याज दर, निःशुल्क एटिएम कार्ड सुविधा लगायतकाे प्रलोभन दिएर निक्षेप खाता खोल्न लगाउने र पछि क्रमशः ब्याज दर कटौती गर्नुका साथै दोश्रो वर्षदेखि एटिएम कार्डवापत चर्को सेवा शुल्क असुल्ने प्रवृत्ती अझै सम्म पनि कायमै छ । वित्तीय साक्षरता कमजोर भएको नेपाली बजारमा एनआइसी एशियाले आफ्ना मुद्दती, बचत र कर्जा योजनाहरुमा विभिन्न फुर्को र अंग्रेजी शब्द जोडेर भ्रमित पार्दै आएको छ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बै‌ंकहरुमा गरिएको सुपरिवेक्षणका आधारमा नेपाल राष्ट्र बै‌ंकले ऋणीलाई ठगेको भन्दै एनआइसी एशिया बै‌ंकलाई कारवाहीको चेतावनी समेत दिएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी एकीकृत निर्देशिकाको प्रावधानविपरित ऋणी ग्राहकसँग अधिक ब्याज असुली गरेको प्रमाण फेला परेपछि राष्ट्र बैंकले यस्तो चेतावनी दिएको हो । राष्ट्र बैंकले बीमितसँग असुलेको कर्जावापतको अतिरिक्त रकम तत्कालै फिर्ता गर्न निर्देशन दिएको छ। एनआइसी एशिया बै‌ंकले अघिल्ला दुई आर्थिक वर्षहरु २०७८।७९ र २०७९।८० मा समेत ब्याज दर सम्बन्धी राष्ट्र बैंकको निर्देशनको उल‌ंघन गरेको थियो ।

एनआइसी एशियासँग यसका ऋणीहरु सबैभन्दा बढी पीडित छन् । ऋणीले निश्चित अवधिका लागि ऋण लिई सकेपछि ऋण सम्झौता अवधि पुरा नहुँदै ऋण सम्झौता पुनरावलोकन गर्ने र ब्याज दर वृद्धि गरेर ऋणीको ढाड सेक्ने गरेको छ। यसबाहेक आवधिक कर्जा(टर्म लोन) का लागि आवेदन दिने ऋणीलाई जबरजस्ती ओभर ड्राफ्ट कर्जा लिन बाध्य बनाउँदै आएको छ। ओभर ड्राफ्ट कर्जाको अवधि एक वर्षको मात्र हुने र कर्जा सम्झौता नविकरण गर्दा पुनः सेवा शुल्क असुली गर्न पाइने भएकाले एनआइसी एशियाले ऋणी ग्राहकलाई जबरजस्ती ओभर ड्राफ्ट कर्जा सुविधा लिन बाध्य बनाउँछ।

कानूनमा रहेका छिद्रहरु पत्ता लगाएर अनुचित बैंकिङ्ग अभ्यासमार्फत् सर्वसाधारण ग्राहकलाई ठगी गर्ने भन्दै एनआइसी एशिया आलोचित हुँदै आएको छ। अनुचित बै‌ंकिङ्ग अभ्यास गरेको प्रमाणका आधारमा एनआइसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले पटक पटक जरिवानासहितको कारवाही समेत गरेको छ

830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?