जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकद्वारा भीआरएसको म्याद दुई साता थप

लक्ष्मी सनराइज बैंकद्वारा भीआरएसको म्याद दुई साता थप

लक्ष्मी सनराइज बैंकले आफ्ना कर्मचारीका लागि ल्याएको स्वेच्छिक अवकाश योजना (भीआरएस)को म्याद दुई साता लम्ब्याएको छ । अपेक्षित मात्रामा कर्मचारीले आवेदन नदिएपछि म्याद लम्ब्याउनु परेको बैंक सम्बद्ध स्रोतले बताएको छ । यसअघि १५ दिन समय दिएर स्वेच्छिक अवकाश लिन भनिएको थियो ।

तर उक्त अवधिमा केवल ४० जनालेमात्रै आवेदन दिएका छन् । सुरुवाति म्याद गत आइतबार सकिए पनि अपेक्षाकृत संख्यामा आवेदन प्राप्त नभएपछि अर्को १५ दिन म्याद थपेर माघ २९ सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको हो । हालसम्म आवेदन दिएका ४० मध्ये ३८ जना तल्लो तहका कर्मचारी छन् । केवल २ जनामात्रै प्रबन्धक (म्यानेजर) तहका कर्मचारीले आवेदन दिएको बैंक स्रोतले जनाएको छ ।

बैंकको साना व्यवसाय प्रमुख रहेका बरिष्ठ प्रबन्धक दीपेनमान सिंह प्रधान र बागमती प्रदेश प्रमुख रहेका प्रबन्धक योगेन्द्र पुनले मात्रै स्वेच्छिक अवकाशका लागि आवेदन दिएका छन् । यी दुबैजना तत्कालिन सनराइज बैंकबाट आएका हुन् । भीआरएसका लागि आवेदन दिने अधिकांश कर्मचारी तत्कालिन सनराइज बैंकतर्फका रहेको स्रोतले जनाएको छ ।

‘उच्च तहका धेरै मान्छे गइदिए हुन्थ्यो भन्ने अपेक्षा थियो’ उच्च व्यवस्थापनका एक अधिकारीले भने, ‘अहिलेसम्म त्यो अपेक्षा पुरा नभएपछि म्याद थपिएको हो ।’ उमेरले ४० वर्ष नाघेका, ५ वर्ष वा त्योभन्दा लामो समयदेखि बढुवा नभएका, शिक्षाशास्त्र लगायत गैरवित्तीय विषय अध्ययन गरेका कर्मचारीहरुलाई उक्त योजनामार्फत् बिदाई गर्ने रणनीतिमा बैंक व्यवस्थापन देखिएको छ । स्वास्थ्यमा दीर्घकालिन समस्या आएका कर्मचारीलाई पनि यही मौकामा हटाउने प्रयास गरिएको कर्मचारीहरुले बताएका छन् ।

यस योजना मातहत अधिकतम २० महिनाको सुविधा दिएर बिदा गर्न लागिएको हो । उक्त योजनामा निश्चित अवधि काम गरेका व्यक्तिले मात्रै यो सुविधा लिन पाइने भन्ने कुनै व्यवस्था उल्लेख नभएकाले जोसुकैले भाग लिनसक्ने बैंकले जनाएको छ । तर अहिले बैंक छाड्न नमानेका कर्मचारीलाई ‘पेलपाल पारेर भए पनि दबाब सिर्जना गर्ने कोसिस हुनसक्ने’ भन्दै एक कर्मचारीले यस योजनालाई ‘साँच्चै स्वेच्छिक’ बनाइनु पर्ने बताए ।

खर्च घटाउन दबाब

बैंकले सञ्चालन खर्च कम गर्न एकै बजार केन्द्रमा रहेका शाखाहरु मर्ज गर्ने क्रम अघि बढाएको छ । दुई बैंक मर्ज हुँदा २८४ वटा शाखा रहेकोमा अहिलेसम्म १४ वटा शाखा घटाइसकेको छ । हाल २७० शाखा रहेको र त्यसलाई थप १० वटा घटाएर २६० मा सीमित गर्ने लक्ष्य बैंकले अघि सारेको प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले अर्थपथलाई बताए । यसरी २४ वटा शाखा घटाउँदा ठूलो संख्यामा कर्मचारी बढी हुन्छ । यसरी शाखास्तरमा हुने अधिक कर्मचारीलाई आकर्षक सुविधासहित बिदा गर्ने योजना बैंकले अघि सारेको छ ।

साथै दुई बैंकको उच्च व्यवस्थापन टोलि एकै ठाउँमा आउँदा माथिल्लो तहमा पनि कर्मचारीको भार अधिक भएको छ । त्यसैले उच्च व्यवस्थापन टोलिको आकार घटाउने दिशामा बैंक अघि बढेको छ । तर तल्लो तहका कर्मचारीले मात्रै आवेदन दिएको र त्यो पनि संख्या असाध्यै कम भएको भन्दै बैंकले भीआरएसको अवधि लम्ब्याएको हो ।

अहिले अधिक शाखा र अधिक कर्मचारी हुँदा एकातिर सञ्चालन लागत बढेको र प्रतिशाखा ब्यवसायको आकार पनि बढ्न नसकेको बैंक व्यवस्थापनको बुझाइ छ । चालु आर्थिक वर्षको अर्धबार्षिक तथ्यांकले प्रतिशाखा कर्जा प्रवाह गर्ने सूचीमा लक्ष्मी सनराइजको स्थान २० वटा बाणिज्य बैंकमध्ये १० औं स्थानमा छ ।

हाल बैंकको उच्च व्यवस्थापन समितिमै १३ जना कार्यरत छन् । यसबाहेक ३७ जना विभागीय प्रमुख, ४ जना क्षेत्रीय प्रमुख र ६ जना प्रदेश प्रमुखहरु छन् । माथिल्ला तहका यी ६० जनाबाहेक ठूलो कारोबार गर्ने कतिपय शाखामा कार्यरत शाखाप्रबन्धकहरु पनि बरिष्ठ ओहोदाका कर्मचारी छन् । जबकी, मर्जरकै जगमा खडा भएको र कयौं सूचकका आधारमा देशकै सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको उच्च व्यवस्थापन समितिमा केवल ७ जना पदाधिकारी छन् । विभागीय प्रमुखहरुसहितको विस्ताररित व्यवस्थापन समितिमा अर्को ९ जना छन् ।

लक्ष्मी सनराइजले यस प्रकारको अधिक कर्मचारी (ओभर स्टाफिङ)को चाप घटाउन प्रयास गरे पनि स्वेच्छिक अवकाशका निम्ति मानिसहरु तयार भएका छैनन् ।

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका