जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीले ११ वटा क्षेत्रमा मात्रै लगानी गर्न पाउने

जीवन बीमा कम्पनीले ११ वटा क्षेत्रमा मात्रै लगानी गर्न पाउने

जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले विभिन्न ११ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमकको लगानी निर्देशिका जारी गर्दै कम्पनीहरुले लगानी गर्नुपर्ने क्षेत्र र सीमा तोकिदिएको हो ।

उक्त निर्देशिका अनुसार अब जीवन बीमा कम्पनीहरुले आफ्नो कूल लगानीको न्यूनतम ५ देखि अधिकतम ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । लगानी गर्न पाउने ११ क्षेत्रमध्ये दुई क्षेत्रमा सबैभन्दा बढी अर्थात अधिकांश ३० प्रतिशतसम्म लगानी गर्न पाइने प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा आफ्नो लगानीको बढीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । तर, कुनै पनि संस्थाको सेयर, बन्ड, ऋणपत्रमा लगानी गर्दा कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन ।

त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यो सीमाअनुसार लगानी गर्न नसक्ने अवस्था आएमा वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनियम बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने छ । तर उक्त कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी भने लगानी गर्न पाइने छैन ।

त्यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, सूचीकृत कम्पनीको साधारण सेयर, घरजग्गा, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यीमध्ये घरजग्गामा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक मूल्यांकन गर्नुपर्ने छ ।
त्यसैगरी, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, नागरिक लगानी कोष तथा म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था छ ।

तोकिएको सीमाभन्दा कम वा बढी लगानी गरेमा के हुन्छ ?
बीमा कम्पनीहरुले बीमा प्राधिकरणले तोकिदिएको लगानी सीमा प्रत्येक दिन कायम गर्नुपर्ने छ । यदि कुनै कारणले तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा सीमा नाघेको तीस कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नु पर्ने प्राधिकरणको निर्देशन छ । तर मुद्दति निक्षेप वा डिबेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशन बमोजिम भएको मानिने समेत प्राधिकरणले खुलाएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीन वटा शर्त पालना गर्नुपर्ने छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्कृय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारवाहीमा नपरेको हुनुपर्ने छ ।

1145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका