जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको कारबाहीमा पर्‍यो कर्णाली डेभलपमेन्ट बैंक

राष्ट्र बैंकको कारबाहीमा पर्‍यो कर्णाली डेभलपमेन्ट बैंक

बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक राष्ट्र बैंकको  कारबाहीमा पर्ने भएको छ । बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत नचल्दा सो बैंकलाई  राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवानासहित कारबाही गर्न लागेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त संस्था भए पनि नियामक केन्द्रीय बैंकले समयमा नै आवश्यक निगरानी र हस्तक्षेप नगर्दा सो संस्थामा वित्तीय अराजकताले चरम सीमा नाघ्ने अवस्था सिर्जना भएको बताइन्छ । सरोकारवालाको व्यापक गुनासो र दबाबपछि मात्र राष्ट्र बैंकले कारबाही गर्ने तरखर गरे पनि अनियमितताको तुलनामा ५ लाख रुपैयाँ जरिवाना अत्यन्त कम हुने सो बैंकसम्बद्ध एक जानकारले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

स्रोतका अनुसार सो बैंकमा अनियमितताका अनेकौँ घटना छन्, तर कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्र वीर रायले आफ्नै कम्पनीलाई १५ करोड रुपैयाँको ऋण प्रवाह गरेको घटनामा भने कारबाही गर्न लागेको हो । बाँकेको नेपालगन्जमा कार्यालय रहेको बाँके केमिकल्स नामको कम्पनीलाई कर्णाली विकास बैंकबाट दुई पटक गरी १५ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ ।

कर्णाली विकास बैंकबाट २०७५ असोज ८ गते १२ करोड रुपैयाँ सो कम्पनीलाई ऋण प्रवाह गरिएको छ । सोही कम्पनीलाई पुन: दोस्रो पटक २०७७ असोज २८ गते ३ करोड गरी कुल १५ करोड रुपैयाँ ऋण लगानी गरेको तथ्य फेला परेको हो ।

सो बैंकको सीइओको जिम्मेवारीमा नीरजविक्रम शाह, डेपुटी सीईओमा इन्द्रजीत घर्तीमगर छन् भने कर्जा विभागको प्रमुखमा मुकेश गौतम छन् । बैंकका अध्यक्ष, सञ्चालक समितिका अन्य सदस्य र बैंकका सीइओ लगायतको मिलेमतोमा स्वार्थ बाझिने गरी लगानी गरेको भए पनि कर्जा लिने कम्पनी अध्यक्षको भएकाले उनकै नाममा कारबाही गर्न लागिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशिका विपरीत अध्यक्ष रायकै लगानी रहेको बाँके केमिकल्समा दुई पटक गरेर बैंकले १५ करोड रुपैयाँ लगानी गरेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७५ जेठ १४ गते दर्ता भएको बाँके केमिकल्सको कम्पनी दर्ता नम्बर १९०३२१ रहेको छ । अध्यक्ष वीर रायले अन्य धेरै कम्पनी आफन्तको नाममा दर्ता गरेर ती कम्पनीमा जथाभाबी लगानी गरेको पाइएको समेत राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यदि कुनै व्यक्ति बैंकको सञ्चालक समितिका सदस्य वा पदाधिकारी रहेको र सोही बैंकबाट आफ्नो लगानी रहेको कम्पनीमा ऋण लगानी गरिएको पाइएमा त्यस्ता इजाजतप्राप्त संस्थालाई जरिवानासहितको कारबाही हुने नेपाल राष्ट्र बैंक बैक तथा वित्तीय संस्था ऐनमा व्यवस्था छ । त्यसैगरी सञ्चालकलाई पनि कारबाही गरी जिम्मेवारीबाट मुक्त गराउनेसम्मको कारबाही गर्न सक्ने व्यवस्था ऐनमा छ ।

बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृत नीरज विक्रम शाहसँग  यस विषयमा जिज्ञासा राख्दा उनले भने, ‘नेपाल राष्ट्र बैंकका हरेक निर्देशनहरू राम्रोसँग पालना गरेका छौँ । यसभन्दा पहिलाको व्यवस्थापनका कुराहरूमा राष्ट्र बैंकका केही रिर्जभेसनहरू होलान्, तर अब नयाँ टिम आएपछि बैंकमा भएका सबै खराब क्रियाकलापहरूलाई सच्याएर जाने सोचमा छौँ ।’

उनले अध्यक्षको कम्पनीले लगेको ऋणका विषयमा भने राष्ट्र बैंकले व्यक्तिगत प्रयोजन भयो भनेर अध्ययन गरिरहेको बताए । उक्त ऋणका विषयमा पनि आफूले सबै फाइलहरू राष्ट्र बैंकलाई उपलब्ध गराएकाले सबै विषयमा स्पष्ट हुने उनले बताए ।

उता, बैंकका अध्यक्ष राजेन्द्र वीर रायलाई यस प्रकारको स्वार्थ बाझिने गरी भएको लगानीको सम्बन्धमा जिज्ञासा राख्ने प्रयास गर्दा उनले प्रयोग गर्दै आएको मोबाइल नम्बर हाल बन्द अवस्थामा रहेको कारण सफल हुन सकेन । तर, राष्ट्र बैंकले भने रायकै आफन्तको नाममा दर्ता गरी अपारदर्शी लगानी गरेको आशंकामा बाँके केमिकल्स लगायत २० वटा कम्पनीमा भएको लगानीबारे अनुसन्धान गरिरहेको बुझिएको छ ।

हाल केन्द्रीय बैंकले अनुसन्धानको दायरामा राखेका कम्पनीहरूमा राप्ती पोलिमर, हिल्सा इन्भेस्टमेन्ट कम्पनी, एमरएस डी. एन. टी. इन्भेस्टमेन्ट प्रालि, एमरएस श्री कृष्णानन्द मेटल इन्डष्ट्री, लक्ष्मी ट्रेडिङ, एमरएस सभ्यता बिल्डर्स एण्ड सप्लायर्स, एमरएस युनिक दृष्टि रियल स्टेट, बाँके समृद्धि एग्रो प्रालि, प्रतीक निर्माण सेवा, आस्था लक्ष्मी बिल्डिंग प्रडक्ट लगायत रहेका छन् ।

900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका