जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सरकारले जनताले सोचे जस्तो काम गर्न सकेन

सरकारले जनताले सोचे जस्तो काम गर्न सकेन

सरकारमा सामेल मन्त्रीहरु समेत प्रधानमन्त्री केपी ओलीसँग र प्रधानमन्त्री ओली आफ्ना मन्त्रीहरुसँग सन्तुष्ट नरहेको बर्तमान परिस्थितिमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल समेत प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीसँग असन्तुष्ट छन् । सो तिक्ततामा दलभित्रको गुटगत राजनीति प्रमुख कारकका रुपमा देखिएको झलनाथ खनालको भनाई छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालले दुई दलका बीचमा एकता भैनसकेको भन्दै हालसम्मको एकता प्रक्रियामाथि नै प्रश्न उठाउँदै आएका छन् । आफूलाई कुनै मतलब नदिई एकता प्रक्रिया अघि बढाइएको भन्दै शुरुदेखि नै रुष्ट बन्दै आएका खनाल अझै पनि सो एकता प्रक्रियाको विपक्षमै छन् । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण प्रक्रिया टुङ्ग्याउन नसक्दा सत्तारुढ दल अलमलमा देखिएको छ ।

नेकपाका नेताका रुपमा रहेका वामदेव गौतम पनि पछिल्लो समयमा असन्तुष्ट देखिएका छन् । पार्टी एकताका मुख्य पात्रका रुपमा रहेका गौतम तथा नारायणकाजी श्रेष्ठ समेत एकताको हालसम्मको अवस्थाप्रति निराश देखिएको प्रस्टै छ । यो समुहलाई भित्री साथ खनालको पनि रहेको बताइन्छ । यसै विषयमा झलनाथ खनालसँग राजतिलक प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेप ।

केपी ओली सरकारपछि महंगी झन बढ्यो, हत्या,हिंसा आतंक बढेको आम जनताको निरासा बढेको छ नी ? यस विषयमा तपाईको पार्टी भित्र छलफल हुँदैन ?
हो गम्भिर प्रश्न उठाउनु भयो । सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको छ ।
महंगी नियन्त्रणमा ठोस् काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको छ । यस विषयमा हाम्रो पार्टी भित्र गम्भिर छलफल हुन जरुरी छ ।

नेकपा भित्र तपाई लगायत वामदेव गौतम र नारायणकाजी श्रेष्ठको निकै ठुलो असन्तुष्टि छ भनिन्छ नी ?
कतिपय अवस्थामा ठुलो पार्टीमा सबैका विचार नसमेटिन पनि सक्छन् तर पेलेरै जाने सोँच नेतृत्व तहमा हुनुहुदैन भन्ने नै हो । म ब्यक्तिगत रुपमा को असन्तोष को सन्तोष त्यसमा अघि बढ्न चाहान्न ।

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । पछिल्लो समय देशको अवस्थालाई कसरी नियाल्न’भएकोे छ ?

हाम्रो देश परिवर्तन तिर लागिरहेको छ । सामान्तवादको हजारौँ वर्षको युग र राजतन्त्रको युगबाट मुक्त भएर लोकतान्त्रिक युगमा हामी प्रवेश गरेका छौँ । अहिले कम्युनिष्ट पार्टीको सरकार छ । तर यो सरकारले नौ महिनाको अवधिमा जनताले सोचे जस्तो उल्लेखनीय काम गर्न सकेको देखिएन ।

पार्टी एकीकरण टुप्पोमा मात्रै भयो, तल्लो तहमा अझै हुन सकेको छैन कारण के देख्नु भएको छ ?
तपाईले उठाउनु भएको विषय ठिक हो । तर केही समय हामी पार्टी एकीकरण प्रक्रियाले व्यस्त भयौँ । तर एकीकरण टुप्पोमा मात्रै भएको छ । तल्लो तहमा अझै हुन सकिराखेको छैन । तल्लो तहको कमिटिहरु विघटन गर्ने काम ब्लण्डर मिस्टेक हो । अहिलेसम्म पनि ति कमिटिहरुमा एकीकरण गर्न सकिएको छैन । तल्लो तहसम्म नीति, योजना र भिजन दिन सकिएको छैन । एकीकरणपछि माथिल्लो तह पनि प्रभावकारी हुन सकेको छैन । आवश्यक रुपमा छलफल,बैठकहरु बस्न सकिरहेको छैन ।

सरकारको कामबारे पार्टीभित्र छलफल, बैठक हुँदैन र ?
नियमित रुपमा पार्टीको सचिवालय बैठक बस्ने सकेको छैन । स्थायी कमिटी र केन्द्रिय कमिटिको बैठक पनि नियमित रुपमा बस्न सकेको छैन । संविधानले भनेअनुसारको समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा पार्टीभित्र गम्भीर बहस हुन सकेको छैन । सृजनात्मक रुपमा नयाँ काम सुरु हुन सकेन ।

तपाईहरुलाई जनताले यति विश्वास गरेर मत दिए । तर सरकार किन जिम्मेवार बन्न सकेन ?
सरकार आफ्नै ढंगले चल्ने प्रवृत्तिले काम हुन नसकेको हो । सरकारको गति र प्रभावकारिता कमजोर देखिएको छ । पार्टीको बैठक र बहसहरु नहुने आदि कारण पनि हो ।

नेकपाभित्र पनि नेताहरुको गुटका कारण पनि पार्टी र सरकार कमजोर भयो भनिन्छ नि ?
विगतमा नेकपा एमाले र माओवादीका गुटहरु अहिले कायम छैनन् । विगतका गुटहरु अहिले अर्कै घेरामा रुपान्तरण भएका छन् । अर्कै घेरालाई पनि विलिन बनाएर एकढिक्का बनाएर लैजानुपर्छ ।

तपाईहरु आफैँले गुट चलाएपछि पार्टी कसरी एकढिक्का बन्ला र ?
हो, त्यही भएर मैले सबै नेताहरुलाई भनिरहेको छु, गुट छोड्नुहोस् । गुटगत राजनीति गर्नु भनेको अपराध हो । पार्टीलाई विभाजित गर्ने र पार्टीलाई बर्बाद गर्ने काम हो । त्यसैले यस्तो काम बन्द गर्नुहोस् । तथापी अहिले पनि ९० प्रतिशत कार्यकर्ता गुटको विरुद्धमा छन् । तर नेताहरु नै गुटको विरुद्धमा लाग्न सकेका छैनन् । अहिले पनि पार्टी एकीकृत भइसकेको छैन । नयाँ कम्युनिष्ट पार्टीभित्र गुटबन्दी रहनुहुँदैन भन्ने मेरो चाहना हो ।

तपाईको पनि त गुट होला नि ? यसबाट तपाई पनि अछुतो रहन सक्नु होला त ?
पार्टी भित्र जसले पनि गुट बनाउन सक्छ । तर मेरो सबैलाई अपिल छ, गुटगत राजनीति नगरौँ । यतिमात्रै होइन, आफ्ना एसम्यान र हनुमानहरुलाई नियुक्ती नगरौँ । सरकारले निर्णय र नियुक्ति गर्दा पार्टीभित्र सल्लाह गरेर, कमिटिहरुले निर्णय गरेर मात्रै गर्नुपर्छ भन्ने हो । आफूखुशी गर्दै जाने हो भने यसले राम्रो परिणाम दिन सक्दैन् ।

तपाईकै पार्टीभित्रैका विभिन्न पदहरुमा पनि गुटगत जिम्मेवारी दिइएको छ नि ?
। ती पदहरुमा दिइएको जिम्मेवारीमा बहस र विवाद कायमै छ । मुख्यमन्त्रीहरुलाई नै प्रदेश कमिटिको प्रमुख बनाउँनुहुँदैन भन्ने विचार आएको छ । यसमा मेरो पनि विचार मिलेको छ । यसबारे टुङ्ग्याउन बाँकी नै छ । प्रदेश कमिटिहरु अझै बनेको छैन । तर अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज र सचिव मात्र तोकिएको हो

दुई तिहाई बहुमतको सरकार छ । केपी ओली प्रधानमन्त्री बनेको ९ महिनामा पनि जनताले चाहे जस्तो काम गर्न सक्नुभएन भन्ने आरोप छ नी तपाई को धारण के छ ?
केपी ओली प्रधानमन्त्री भए पनि वा अरु जो सुकै प्रधानमन्त्री भए पनि गर्नुपर्ने काम एउटै हो । काम गर्छु भनेर जनतासामु प्रतिवद्धता जनाएका कामहरु गर्न सके मात्रै हामी संविधानलाई कार्यान्वयन गर्न सक्छौँ । काम गर्न सकिदैन भने कुर्सीमा बसिरहनुको कुनै औचित्य छैन् । कुनै कुर्सीमा बस्दा त्यो कुर्सीले बताएको दायित्व पूरा गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? यी त स्वभाविक उठ्ने प्रश्न हुन् ।

अन्त्यमा ः जनताले चाहे अनुरुपको प्रभावकारी रुपमा काम गर्न सक्नुभएन भने प्रधानमन्त्री ओली कुर्सीमा बसिरहन मिल्छ त ?
हेनुस् । हरेक व्यक्तिले पदमा बसिसकेपछि निश्चित काम,कर्तव्य र दायित्व पूरा गर्नसक्नुपर्छ । दायित्व र जिम्मेवारी बहन गर्न सक्न’ पर्छ । यदि सकिदैन भने त कुर्सी त छोड्नैपर्छ । मैले अझै पनि प्रधानमन्त्री ओलीबाट आशा गरेको छु । जनताले पनि त्यही आशा गरेका छन् । उहाँ सफल भए हामी सबै सफल हुन्छौँ । म ओलीलाई सफल हुनका लागि, लोकप्रिय प्रधानमन्त्री बन्नका लागि शुभकामना दिन्छु । जनताको पक्षमा काम होस भन्ने मरो लक्ष्य रहेको प्रस्ट पार्न चाहान्छु ।राजतिलक साप्ताहिक

5775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?