जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ मन्त्रालयका कारण १ लाख २० हजारले अझैं पाएनन् कोरोना बिमाको भुक्तानी

अर्थ मन्त्रालयका कारण १ लाख २० हजारले अझैं पाएनन् कोरोना बिमाको भुक्तानी

अर्थमन्त्रालयले आफ्नो दायित्व पुरा नगर्दा झन्डै हजारौं नेपाली नागरिकले कोरोबा बीमा दाबी भुक्तानीबाट बन्चित भएका छन्। करिब १ लाख ३७ हजारले कोरोना बीमाबाट पाउनुपर्ने पैसाको लागि दाबी गरे पनि अझैं १ लाख २० हजारले भुक्तानी पाउनबाट बन्चित भएका हुन्।

बीमा कम्पनीहरुले आफ्नो दायित्व पुरा गरेपनि अर्थमन्त्रालयले आफ्नो हिस्साको रकम निकासा नगरेकाले कोरोना बीमाको भुक्तानी नभएको हो। साढे ३ अर्ब माथिको भुक्तानी सरकार अर्थात अर्थसमितिले गर्नेगरि मापदण्ड बनाईएपनि अर्थले निकासा नगरेकाले भुक्तानी नभएको हो।

अर्थमन्त्रालयबाट निकासा हुनुपर्ने कोरोना बीमाको रकम कहिले निकासा हुन्छ भन्ने कुरा अझैं पनि अन्यौलमा रहेको पाइएको छ। यस बिषयमा अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यसँग कुराकानी गर्दा उनले रकम निकासाको लागि बीमा समितिले पत्र लेखेको बताउदै छिट्टै निकासा हुने बताए। यद्दपी कहिले निकासा हुन्छ भन्नेबारे उनले केहि बोलेनन्।

कोरोना बिमा मापदण्ड २०७७ अनुसार बिमा कम्पनी (बिमक) हरूले जतिसुकै बिमा गरे पनि १ अर्बसम्म, त्यो भन्दा माथि २ अर्बसम्म नेपाल पुनर्बिमा कम्पनीले, साढे २ अर्बसम्म बिमकको महाविपत्ति पुल (बिमा कम्पनीहरूको कोष) ले, यसमाथि साढे ३ अर्बसम्म बिमा समितिले, र  साढे ३ अर्ब माथिको सरकार अर्थात अर्थमन्त्रालयले भुक्तानी गर्नुपर्ने हुन्छ।

बीमा समितिका निर्देशक राजुरमण पौडेलले दाबी भुक्तानीका लागि बजेट निकासा गर्न अर्थ मन्त्रालयमा पत्र पठाएको तर केही जवाफ नआएको बताएका छन्।

सुरुमा बिमा समितिले सामाजिक उत्तरदायित्वका रूपमा यो बिमा पोलिसी ल्याउन अनुरोध गरेकाले २०७७ वैशाख ७ देखि निर्जीवन बीमा कम्पनीहरुले यो पोलिसी ल्याएका हुन्। बीमा गर्ने र बीमा रकम दाबी गर्नेको सङ्ख्या धान्न नसक्नेगरि बढेपछि जेठ १७ गते यो पोलिसी  रोक्ने निर्णय भएको थियो।

तर सरकारले पनि दायित्व लिन तयार भएपछि जेठ २३ मा फेरि यसलाई नियमित गर्न सरोकारवालाहरु तयार भएका हुन्। कोभिड बिमा सुरु हुनुअघि सरोकारवाला संस्था सबै बसेर कोरोना बिमा मापदण्ड २०७७ बनाइएको थियो। कोरोनाबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यको बुँदा ५५ र २८५ मा कोरोना बिमासम्बन्धी व्यवस्था गरिएको थियो। त्यसलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयको सहमतिमै मापदण्ड बनाइएको हो।

मापदण्डमा सहमति भएअनुसार मन्त्रालयले नै दाबी बापतको रकम भुक्तानी नगर्दा बिमा कम्पनीहरूले वैशाखदेखि दाबी दिन रोक्दै आएका छन्। पछिल्लो मितिसम्म १ लाख ३७ हजार जनाले कोरोना बीमाको लागि दाबी गरेका छन्। त्यसमध्ये ३५ हजारले मात्रै भुक्तानी पाएका छन्। बाँकी १ लाख २० हजारभन्दा बढीले अझै पाएका छैनन्।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा लेख अन्तर्गत कोरोनाको बीमा गरेका छन् भने ९ लाख ५८ हजार १९८ जनाले कोरोना बीमा लेख अनुदान अन्तर्गत कोरोना बीमा गरेका छन्।

जसमध्ये १० अर्ब ९७ करोड ७३ लाख ५३ हजार ७६१ रुपैयाँ बराबरको दाबी परेको छ। परेको दाबी मध्ये बीमा कम्पनीको पुलबाट ३ अर्ब ५० करोड, सम्बन्धित बीमा कम्पनीहरुबाट १ अर्ब ३१ करोड ११ लाख ७९ हजार २३९ रुपैयाँ भुक्तानी भएको छ। तर अझैं पनि ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कोरोना बीमाको दाबी भुक्तानी हुन बाँकी छ। कोरोना बीमा मापदण्ड बमोजिम सरकार अर्थात अर्थ मन्त्रालयले ७ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गर्न बाँकी छ।

4845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका